बाँके\पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ ।
मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ ।
कार्यक्रममा सहभागी भारतीय व्यवसायी लिएर सोमबार बुद्ध एयरले कैलाश मानसरोवरको अवलोकन उडान गर्ने आयोजक नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका छन। कार्यक्रमको अवसर पारेर वागेश्वरी मन्दिरमा सन्ध्याकालीन महाआरती पनि शुभारम्भ गरिने भएको छ ।
“यो कार्यक्रम भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि हो,” आयोजक नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भनेका छन। नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गत वर्षदेखि वेस्टर्न ट्राभल मार्टको सञ्चालन भइरहेको हो ।
ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका अध्यक्ष ज्योति मेयलले पर्यटकीय विकासका लागि बजारीकरण पनि महत्वपूर्ण हुने भन्दै यो कार्यक्रम उपयोगी रहेको बताए।
आइतबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नाट्टाका अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष अच्युत गुरागाईं, पर्यटन बोर्डका प्रबन्धक श्रद्ध श्रेष्ठलगायतले नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसार तथा प्रवद्र्धनका लागि मार्ट आयोजना गरिएको बताए ।
मार्टको उद्घाटनमा पश्चिम नेपालमा विभिन्न समुदायमा प्रचलित लोकप्रिय संस्कृति प्रस्तुति गरिएको छ । मार्टमा पर्यटकीय स्टल राखिएका छन् । यो कार्यक्रम नेपाल र भारतका पर्यटन व्यवसायीबीच अनुभव तथा सीपको आदानप्रदान र व्यवसाय प्रवद्र्धनका लागि उपयोगी हुने व्यवसायीले जनाएका छन् । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।