६ चैत्र २०८०, मंगलवार

सुरु भयो लुम्बिनीबाट बौद्धपरिपथ साइकल यात्रा
  • न्युज मानसराेवर

लुम्बिनी\ लुम्बिनीदेखि कुशिनगरसम्मको साइकल यात्रा शुक्रबारदेखि सुरु भएको छ। बौद्धपरिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा नेपाल र भारतका ७० जना साइकलयात्रीहरूले लुम्बिनीदेखि कुशिनगरसम्मको साइकलयात्रा सुरु गरेका हुन्।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शुक्रबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साइकलयात्राको शुभारम्भ गरेका हुन्।

उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुद्धको सन्देश बोकेर साइकल यात्रा गरिनु निकै सकरात्मक रहेको बताए। उनले भगवान बुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्धस्थल हुँदै गरिने साइकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे। साइकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरी योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए।

साइकल अभियानकर्मी, बौद्धमार्गी एवं भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म तीन दिन साइकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुले जानकारी दिइन्। पञ्चशील पालना गर्दै हरेक दिन ध्यान, साधनासहित जन्मस्थल लुम्बिनीबाट सुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुगेर समापन गरिने उनले बताइन्।

साइकल यात्रा शुभारम्भका अवसरमा नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान बुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साइकल यात्रा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीमा पनि साइकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे।

शुभारम्भमा प्राध्यापक डा। तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुष्पराज शास्त्रीले साइकल यात्राहरू अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधनासहितको पहिलो साइकल यात्रा भएकाले उत्साही भएको बताए। साइकल यात्रामा भारतका अनाहदी यात्री ३९ जना गरी ७० जनाको सहभागिता छ। पहिलो दिन शुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ।

त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुगेर बास बस्ने र तेस्रो दिन आइतबार महाराजगञ्जबाट कुशिनगरमा पुगेर समापन गरिने कार्यतालिका छ। साइकल यात्रीहरूले यात्रा सुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech