२६ जेष्ठ २०८२, आईतवार

बाँकेमा अत्याधुनिक शौचालय प्रयोगविहीन
  • न्युज मानसराेवर

बाँके\नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ । बाँकेको नेपालगञ्जको धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको नेपालगञ्ज उप–महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिएका छन।

“लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ” वातावरण इन्जिनियर डिसीले भन्नुभयो, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालय भएकाले समय समयमा आउने समस्याको समाधान गर्ने दक्ष प्राविधिकको अभावमा शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र शौचगर्दा स्वचालित रूपमा सङ्गीत बज्ने व्यवस्था छ । फोल्डिङ्गयुक्त भएकाले यसलाई अर्को ठाउँमा समेत सहजै लैजान सकिने व्यवस्था रहेको छ ।  यो शौचालयमा एक पटकमा ३ जना महिला, ३ जना पुरुष र एक जना फरक क्षमता भएका गरी सात जनाले प्रयोग गर्न सक्छन् ।

नेपालगञ्जको मुख्य चोक सुर्खेत रोड र घरबारी टोल तथा खजुरा रोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुनेगरेको छ ।   नेपालगञ्जभित्र करिब एक दर्जनको सङ्ख्यामा सार्वजनिक शौचालय भए पनि स्थानीय बासिन्दाको साथ र सहयोग भए मात्रै अपेक्षाअनुसारको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सफलता प्राप्त हुने उपमहानगरपालिकाले जनाएको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech