२१ पुष २०८१, आईतवार

बाँकेको बालसुधार गृहमा आगजनी
  • न्युज मानसराेवर

बाँके\बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ ।सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् ।

बाल सुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी उल्लेख गरेको छ ।

प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिएलगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ । आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहको ३ वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।कानुनी विवादमा परेर सुधार गृहभित्र राखिएकाहरू दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रँदै आएपछि एक समूहलाई काठमाडौं स्थानान्तरण गर्न थालिएको थियो । प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech