२६ जेष्ठ २०८२, आईतवार

बाँकेमा १०२ प्रतिशतले लगाए दादुरा खोप
  • न्युज मानसराेवर

बाँके\बाँकेमा दादुरा–रुबेलाको खोप लक्ष्य भन्दा बढीले लगाएका छन् । ६ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार २४५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले जिल्लाका ८ वटा पालिकामा एक लाख ६८ हजार ४०२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको थियो । २६ माघसम्म यो लक्ष्य भन्दा दुई हजार ८४३ जनाले बढी हो ।

अभिभावकहरु रोजगारीको शिलशिलामा यतै बसोबास गर्नेदेखि अध्ययनका लागि आएका बालबालिकाहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएको श्रेष्ठको भनाई छ ।

‘अहिलेसम्म १०२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले भने–‘खोपप्रति बालबालिकाको आकर्षण बढेको देखियो, यो सकारात्मक पक्ष हो ।’ बाँकेमा गएको पुष १२ गते दादुरा संक्रमण सुरु भएको थियो ।

त्यसपछि पुष २२ गतेदेखि नेपालगन्जबाट खोप लगाउन सुरु गरिएको थियो । अहिलेसम्म बाँकेमा ३२२ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । ती मध्ये ३१७ जना निको भएर घर गइसकेका छन् । ४ जना भने उपचाररत रहेका छन् । एक जना बालकको भने दादुरा संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो तीन दिनमा जिल्लामा दादुराका कुनै पनि बिरामी फेला परेका छैनन् ।

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech