काठमाडौँ\राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषय पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन्। उनले आफूले सातवर्षे कार्यकालमा देखेका प्रमुख राष्ट्रिय मुद्दाहरू प्रस्तुत गर्ने क्रममा यस्तो धारणा राखेकी हुन्।
भण्डारीले शुत्रबार संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै करिब सातवर्षे कार्यकालमा हासिल गरेको अनुभवसमेतका आधारमा संघीय संसद् र सरकारले गर्नुपर्ने केही विषयलाई बुँदागत रूपमा राखेकी छन्।
देशको राजनीतिले एउटा लय र गति समातिसकेकाले अब सबैको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव राष्ट्रपति भण्डारीको छ। उनले भनिन्, ‘निश्चय पनि यसबीचमा देशको आर्थिक-सामाजिक क्षेत्रमा धेरै प्रगति भएका छन्। विकास निर्माणले गति लिएको छ।’
तर यस्तो गति पर्याप्त नभएको उनको भनाइ छ। उनले प्रश्न गरिन्, ‘हामीले हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ त?’ यस्ता प्रश्नलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ।
राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्बन्धमा भइरहेका प्रयास र अब अपनाउनुपर्ने नीतिबारे आफ्नो धारणा राखेकी छन्। यस्तै सार्वजनिक सेवा प्रवाह, शिक्षा र स्वास्थ्य, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, पूर्वाधार, वातावरण र जलवायु परिवर्तन र परराष्ट्र सम्बन्धमा गर्नुपर्ने कामका बारेमा सरकार र संसद्लाई सुझाव दिएकी छन्।