बाँके\ नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।
नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गरेका थिए ।
यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्रस्तुत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गर्नुभएको बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताब पनि पारित गरेको छ ।