२६ जेष्ठ २०८२, आईतवार

दाङमा चितुवा आतंक : एकै रातमा १७ बाख्रा सखाप
  • न्युज मानसराेवर

बाँके\देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारेको छ। लमही नगरपालिका-१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए।

‘राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो,’ अधिकारीले भने।यस्तै लमही नगरपालिका-३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारेको छ। डाँगीले चरिचरनका लागि जंगल लगेका थिए। यस्तै मंगलबार राति नै लमही नगरपालिका-३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा चितुवाले खाइदिएको कुमालको भनाइ छ।

डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतंक बढेको छ। सामान्य घर खर्चका लागि पालिएकादेखि व्यावसायिक रूपमै फार्म खोलेर पालिएका बाख्रा चरिचरनका लागि जंगल लैजाँदा दैनिक रूपमा चितुवाले खाइदिने गरेको यहाँका बाख्रापालक किसानको गुनासो छ।

दिनानुदिन बढ्दै गएको चितुवा आतंकले किसान चिन्तित र त्रसित बनेका छन्। यसअघि पनि लमही नगरपालिका-३ का लोकमणि बन्जाडेले जंगल चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो। चितुवाले बाख्रा मारिदिने त्रासले किसान अचेल बाख्रा लिएर जंगल जान छाडेका छन्।

यता दैनिकजसो चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पुर्‍याउन थालेको किसानले गुनासो गर्न थालेपछि प्रक्रिया पूरा गरेर वन कार्यालयमा निवेदन दिए क्षतिपूर्ति उपलब्ध हुने डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी छोटेलाल चौधरीले बताए। बाख्रा लिएर किसान जंगल जान छाडेपछि चितुवा गाउँमै पसेर वस्तुभाउमाथि आक्रमण गर्न थालेको छ। राससको सहयोगमा

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech