२४ श्रावण २०८२, शुक्रबार

बाँकेमा हात्तीपाइलेविरुद्धको अभियान सफल पार्ने प्रतिवद्धता
  • न्युज मानसराेवर

बाँके \बाँकेको नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको छ ।

बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिए पनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदैआएको थियो । स्वास्थ्य कार्यालयद्वारा हात्तीपाइले रोगको अवस्था र औषधिको महत्वबारे गराइएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागी मौलाना, हाफिज र कारीलगायतका धर्मगुरुले औषधि सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका हुन।

उक्त कार्यक्रममा सहभागी मौलानाले बिहीबारदेखि शुरु हुने हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई औषधि लिन आग्रह गरेका छन। स्वास्थ्य कार्यालयका कर्मचारी र मौलानाहरुले हात्तीपाइले रोगविरुद्धको औषधि पनि सेवन गरेका छन ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले नेपालगञ्जको मुस्लिम समुदायमा हात्तीपाइलेको औषधि खाँदा प्रतिकुल असर गर्छ भन्ने भ्रम फैलिएकाले चिर्न आवश्यक रहेको बताएका छन। धार्मिक गुरुको सहयोगले यस पटक अभियान पूर्ण रुपमा सफल हुने विश्वास पनि उनले व्यक्त गरेका थिए ।

कार्यक्रममा मदिना मस्जिदका प्रमुख मौलाना नसिरुद्दिन अन्सारी, गौसिया मस्जिदका प्रमुख मौलाना जमाल, जैसपुरका मौलाना समिउल्ला, हाफिज साकिर, कारी अब्दुल कैयुम, मेराज अहमद कादरी, अमिर रजा कादरी लगायतका धर्मगुरुहरुको सहभागिता थियो ।

  • १० फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech