बाँके\त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायत सत्तारुढ गठबन्धन दलका भ्रातृ संगठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
विद्यार्थी आन्दोलन जोगाउन ८ विद्यार्थी संगठन सहकार्य गरेर बढ्ने सहमति भएको उनले बताइन्।
यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी संगठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् ।आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।
कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ ।