लुम्बिनी\ प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोट दरबारभित्र पलाँस वृक्षको विस्तारका लागि बिउ भण्डारण गरिने भएको छ। लुम्बिनी विकास कोषको अनुरोधमा डिभिजन वन कार्यालय कपिलवस्तुले बिउ संकलन गरी नर्सरी बनाउने योजना बनाएको हो।
लुम्बिनी विकास कोषका तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले तिलौराकोटमा पलाँसका वृक्ष फैलाउन सके फागुन र चैतमा पर्यटक आकर्षित गर्न सकिने भएकाले बिउ उत्पादन गर्न डिभिजन वन कार्यालयलाई अनुरोध गरेका थिए।
उनले तिलौराकोट दरबारमा लरहै पलाँस हुर्काउन सके पर्यटकका लागि थप आकर्षक हुने बताए। ‘जियोफिजिकल सर्भेका आधारमा तिलौराकोट दरबार क्षेत्र सुन्दर बनाउने योजना छ। पलाँसलाई लहरै हुर्काउन डिभिजन वनलाई अनुरोध गरेका हौँ’, राईले भने।
मध्यफागुनदेखि तिलौराकोटमा फुलेको पलासँले पर्यटकलाई आकर्षित बनाएको छ। तराई र पहाडी भेगमा पाइने पलाँस पछिल्लो समय लोपोन्मुख हुन थालेको छ। औषधीय गुण रहेको पलाँस वृक्षको विस्तारका लागि नर्सरी बनाएर प्लान्टेसन बनाउने योजना बनाइएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म पलाँसको बिउ नर्सरीमा राखेर प्लानटेसन गरिएको छैन।
‘तराईमा भन्दा पहाडमा पलाँस हुर्केको देखेका छौँ’, सहायक वन अधिकृत शाण्डिल्यले भने, ‘लोपउन्मुख अवस्थामा पुगेको पलाँसको बिउ भण्डारण गरी नमुना परीक्षण गर्नेछौँ।’
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबारभित्र पलाँसले पर्यटकलाई स्वागत गरेको छ। सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि दरबार त्यागेका थिए। त्यसैले तिलौराकोट दरबार बौद्धमार्गीहरूको श्रद्धाको स्थल मानिन्छ।
यही स्थलमा अहिले पलाँसका राताम्मे दृश्यले पर्यटकलाई लोभ्याएको छ। बुद्धकालमा पलाँस, वर, पीपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीनकालदेखि नै पलाँस औषधिमूलोका रूपमा प्रयोग हुँदै आएको छ। यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यतासमेत छ।
लोप हुँदै गएको पलाँसलाई बचाउनका लागि पनि बिउ उत्पादन गर्नुपर्ने त्रिभुवन विश्व विद्यालयको वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. राजेश राईले बताए।
उनले पलाँस औषधीय गुण र सौन्दर्यका लागि अत्यन्तै राम्रो हुने भएकाले यसको संरक्षण गर्नुपर्ने बताए। ‘ऐतिहासिक बुद्धस्थल तिलौराकोटमा पलाँस लहरै फुलाउन सके फागुन चैतमा आउने पर्यटकलाई थप लोभ्याउनेछ’ उनले भने। उनका अनुसार पलाँस आदिवासी प्रजातिको वृक्षका रुपमा समेत चिनिन्छ।
नेपालमा अक्टोबरदेखि मार्च महिनासम्म बौद्धमार्गीहरूको आवागमन बढी हुन्छ। यो भ्रमणका लागि अनुकूल मौसम पनि हो। यति बेला तिलौराकोटमा दैनिक एक हजारदेखि १२ सय जनासम्म पर्यटक आउने गरेकोे लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले बताए। म्यानमार, श्रीलंका, थाइल्यान्ड, माल्दिभ्स, भारतसहित नेपालका आन्तरिक पर्यटकहरूको भीड लागेको छ।