२५ जेष्ठ २०८२, शनिबार

भेरी बबईमा इरानी कम्पनीसँगको सम्झौता रद्द
  • न्युज मानसराेवर

सुर्खेत\ निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय आयोजनाले परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता रद्द गरेको छ । अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीईले एक वर्षअघिदेखि नै काम छाडेको थियो ।

कम्पनीलाई अमेरिकी कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सूचीमा राखेको छ । परामर्शदाताका रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका सर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) लेखनाथ सुवेदीले बताए । ‘कम्पनीले काम नगर्दा आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब फास्ट ट्र्याकबाट नयाँ परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको छ ।’

अमेरिकी प्रतिबन्ध सूचीमा परेपछि कम्पनीले बैंक खाताबाट साढे ३ करोड रकम निकाल्नसमेत पाएको छैन । कम्पनीका कर्मचारीले १ वर्षदेखि पारिश्रमिकसमेत पाएका छैनन् । एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर काम गरिरहेको थियो ।

आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजनका लागि ०७६ असोज ६ मा आयोजनाले इरानी कम्पनी एमजीसीई तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । कम्पनीले एक वर्षदेखि नै परामर्शदाताका रूपमा काम गर्न पूर्ण रूपमा छाडिसकेको थियो । आयोजनाले गत माघ ९ देखि लागू हुने गरी कम्पनीसँग सम्झौता करार रद्द गरेको सुवेदीले बताए ।

आयोजनामा अहिले दोस्रो चरणका सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकलसम्बन्धी काम भइरहेका छन् । महालेखा परीक्षकको कार्यालयको रायबमोजिम फास्ट ट्र्याकबाट नयाँ परामर्शदाता नियुक्ति गर्न सिँचाइ विभागसँग समन्वय गरिरहेको सीडीई सुवेदीको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनाले हालसम्म ६० प्रतिशत प्रगति हासिल गरेको छ । हाल बाँध (ड्याम) र विद्युत्गृह (पावर हाउस) निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी काम भइरहेका छन् । पहिलो चरणमा सुरुङ निर्माण सकिएको छ ।

चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा १ वर्षअगावै टनेल बोरिङ मेसिन (टीबीएम) का सहायताले सुरुङ निर्माण गरिसकेको थियो । दोस्रो चरणका बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच ०७६ साउनमा ठेक्का सम्झौता भएको थियो ।

दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष ०७९/८० भित्र सम्पन्न गर्ने कम्पनीले कार्यादेश पाएको छ । तर आयोजनाका यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने देखिन्छ । आयोजनाको दोस्रो चरणका काम सम्पन्न गर्न ११ अर्ब ५२ करोड ६१ लाख बजेट प्रस्ताव गरिएको छ ।

अहिले हाइड्रो मेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माण, इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका काम भइरहेको छ । आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख लागतमध्ये अहिलेसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको सुवेदीले जानकारी दिए । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।

त्यहाँबाट १२ किमि २ सय १० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–५ हात्तीखोलामा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिने उनले जानकारी दिए । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसमेत लिएको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech