१२ बैशाख २०८२, शुक्रबार

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी
  • न्युज मानसराेवर

बाँके\चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रू ५७ अर्ब २४ करोड ऋण थपिएको छ ।

गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो ।चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा रू ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा रू १९ अर्ब ४३ करोडले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन रू ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जीडीपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्यांकबाट देखिन्छ ।

  • २७ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech