नेपाल र भारतका चार-चार जना विज्ञ एकै ठाउँमा बसेर बनाएको दुईपक्षीय प्रतिवेदन बुझ्ने आँट भारत सरकारको हुँदैन भने त्यहाँको धरातल कति कमजोर छ भन्ने स्पष्ट हुन्छ। भारत भनेको त्यहाँको सरकार मात्र होइन, आमनागरिक पनि हुन्। दुवै पक्ष बसेर सम्बन्धलाई आधुनिकीकरण गर्न बनाएको दस्ताबेजको सँगालो भारत सरकारले नबुझ्दा त्यहाँका आमनागरिकमा कस्तो सन्देश गएको होला? म भारतमा राजदूत हुँदा भारत सरकारलाई नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझाउने प्रयास गरेको हुँ। तर सकिएन।
भारतीय र नेपाली नागरिकबीचको सम्बन्ध परापूर्व कालदेखिको हो। यो सामान्य सम्बन्ध होइन। त्यस्तो सम्बन्धलाई प्रशासनिक तहले यो वा त्यो बहानामा आधुनिकीकरण नगरी एकपक्षीय शैलीमा अघि बढाउन मिल्दैन। भारत अझै पनि पुरानो दृष्टिकोणबाटै नेपाललाई हेरिरहेको हुन्छ, जुन गलत छ।
सम्बन्ध थप उचाइमा लैजान सहयोग गर्ने प्रतिवेदन नबुझ्दा राम्रो सन्देश गएको छैन। तथापि भारतीय र नेपाली नागरिकबीचको सहकार्य साँच्चै लोभलाग्दो छ। प्रशासनिक तहलाई यो रुचिकर नलाग्दा समस्या देखिएको हो। यसलाई राजनीतिक नेतृत्वले चिर्न आवश्यक छ। हामीले सधैँ भारत सरकारलाई मात्र देख्यौँ। आमभारतीयको धारणा बुझेनौँ। अब व्यापक भारतलाई नियाल्नुपर्छ।
हाम्रा नेताहरू भारत जाँदा उतैबाट तय भएका भेटघाट अर्थात् ‘कन्डक्टेड’ भेटघाट मात्र गर्छन्। भारतबाट यहाँ आउँदा भने कर्मचारी स्तरबाटै सबै तहका नेता तथा सरकार एवं राष्ट्र प्रमुखसम्म भेट्ने हैसियत राख्छन्। दुवै प्रजातान्त्रिक मुलुक हुन्। तर किन यति धेरै भेदभाव? समस्या सम्बोधन गर्न हामीले पनि बोल्न सक्नुपर्छ। तर हामी बोल्न सकिरहेका छैनाैँ।
हामीले छिमेकी परिवर्तन गर्न सक्दैनौँ। उनीहरूको सोचाइमा परिवर्तन ल्याउन प्रयास गर्नुपर्छ। भारत र चीनसँग हामीले आआफ्नो तरिकाको सम्बन्ध विकास गर्नुपर्छ। एउटाको सम्बन्धमा अर्कोलाई जोड्नै हुँदैन। मेरो विचारमा अहिले भारत र चीनबीच सम्बन्ध बाहिर भनेजस्तो एकदमै बिग्रिहाल्ने र सप्रिहाल्ने अवस्थामा छैन। उनीहरूका कारणबाट हामी असजिलोमा पर्ने पनि देख्दिनँ। उनीहरूको सम्बन्धलाई लिएर अहिले विश्व हल्लिएझैँ देखिन्छ। त्यसो हुनुको कारण विश्वको शक्ति यस क्षेत्रमा सर्दै आउन खोज्नु हो।
भारतको सोचाइ परिवर्तन भएको देखिँदैन। जवाहरलाल नेहरूकालीन सोचमा भारत रमाइरहेको छ। नेहरूकालीन नीतिमा पनि परिवर्तन भएको छैन। तर चीन बदलिएको छ। उसको महत्त्वाकांक्षा बढेको छ।
यसै बेला पश्चिमाको शक्ति खस्किएको छ। त्यो यता सर्ने क्रम जारी छ। नेपालका लागि यो अनुकूल वातावरण हो। अब हामीले सबैसँग सम्बन्ध विकास गरी आफ्नो मुलुकको समृद्धिमा जोड दिनुपर्छ।
हाम्रो जस्तो मुलुकको विकास हुन अन्तर्राष्ट्रिय वातावरण पनि अनुकूल हुनुपर्छ। अहिले विश्व बदलिँदो अवस्थामा र अनिश्चिततामा छ भन्ने गरिन्छ। दोस्रो विश्वयुद्धपछिको शीतकालीन अवस्थाझैँ रहेको पनि भनिँदैछ। तर के बदलिएको र कस्तो अनिश्चितता भन्ने विषयमा अन्योल छ। पश्चिमाको प्रबुद्ध खस्केको र हाम्रा छिमेकको प्रभुत्व बढ्दै गएको भने पक्कै हो। यो खस्किनु भनेको एक ध्रुवबाट अर्कोतर्फ जानु हो।
सोभियत संघसँगका कारण पश्चिमा अघि बढेको थियो। अहिले चीनका कारण पश्चिमा पछि पर्ने अवस्था आउँदैछ। तर दक्षिणको भूमिका के हुने भन्नेमा सबैको ध्यान जान सकेको छैन। हुन पनि विश्वको दर्दनाक घटना पश्चिमतिर भएका थिए। तर केही समययता यस्ता घटना अब एसियातिर हुने पो हुन् कि भन्ने संकेत देखिएको छ। दोस्रो विश्वयुद्धपछिको ‘ट्रेन्ड’ यता सरेको छ। हिन्द महासागर व्यस्त बनेको छ।
यस्तो अवस्थामा नेपालले आफ्नो पहिचान कायम राखेर अघि बढ्न सक्नुपर्छ। कूटनीति होस या राजनीति कर्मचारीतन्त्रमा जेलिएको छ। बदलिँदो विश्व परिवेशमा नेपालजस्ता मुलुक मारमा पर्न सक्ने हुनाले यसको विकासमा जोड दिनुपर्छ। विश्व रंगमञ्चमा नेपालजस्तो देशले के गर्ने भन्ने प्रश्न उठ्न सक्छ। हामीले अवलम्बन गर्दै आएको तटस्थतालाई कायम राख्दै त्यसअनुरूपको विकास अघि बढाउनु नै उत्तम उपाय हो।
चीनसँग सम्बन्ध राख्दा भारत रिसाउला वा भारतसँग सम्बन्ध राख्दा चीन रिसाउला कि भन्ने सोचबाट मुक्त भएर भ्रातृत्वको भावनामा ओतप्रोत हुँदै आमनागरिकको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्छ। चीन यतिबेला विश्व रंगमञ्चमा बाहिर आइसकेको छ। भारत बाहिर निस्कन सकेको छैन। यद्यपि उसले भूमिका भने खोजिरहेको छ। भारत राष्ट्रसंघ पुनर्संरचनाका माध्यमबाट होस् या अमेरिकासँगको सहकार्यलाई बढाएर चीनसँग पनि सम्बन्ध उस्तै राखेर अघि बढ्न खोजेको देखिन्छ।
भारतले आफूलाई प्रविधिमा बलियो बनाउने प्रयास गरिरहेको छ। चीनले यसलाई अघि बढाएपछि भारत पछिपछि लागेको हो। विश्वमा अमेरिकी प्रविधिले प्रभाव जमाइरहेको अवस्थामा यता पनि प्रविधिमा सक्रियता बढेको छ। यस्तो अवस्थामा हामी पनि आफू अनुकूलको तयारीमा लाग्नैपर्छ।
नेपालले भारतसँगको विकल्पमा चीनलाई अहिले होइन पहिल्यै राखेको हो। कोदारी राजमार्ग यसको उदाहरण हो। भारतका चेकपोस्ट हटाउने काम भए। जुन भारतका रुचिको विषय थिएन। तर नेपालले भारतलाई सहमत गराएको थियो। अब पनि सोही स्तरको कूटनीति आवश्यक छ। जुन सहज छैन। भारतसँग हामीले निहुँ खोजेर उसलाई प्रधान शत्रु बनाउनु हुँदैन। छिमेकी मित्र बनाएर सल्लाह र आपसी सहमतिका आधारमा काम गर्नुपर्छ।
हामी कतैतिर ढल्किएको गन्ध आउनु हुँदैन। कुनै पनि सैनिक गठबन्धनमा नेपाल छैन भनेर स्पष्ट हुनुपर्छ। राजनीतिक दृष्टिकोण बोकेर मुलुकले सहकार्य गर्दैछ भन्ने सन्देश दिन सक्नुपर्छ। अन्य तपसिलका कुरा हुनेछन्। दुवै मुलुकसँग नेपाल एक स्वतन्त्र मुलुक हो भन्ने दृष्टिले वार्ता गर्न सक्नुपर्छ।
हामी भारतसँग मात्रै होइन विश्व राजनीतिमै सहकार्य गर्न सक्छौँ। हाम्रो विगतको उदाहरण पनि छ। अहिले पनि विश्वशान्तिमा नेपालले निर्वाह गरेको भूमिका सामान्य छैन। त्यस्ता विषयलाई अघि बढाएर नेपालले साँच्चै आफूलाई निकै माथि पुर्याउन सक्छ। हामीले खासगरी भारत र चीनबाट फाइदा लिन सक्नुपर्छ। भारतसँग नेहरूको पालाको सम्बन्ध होइन, मोदीसँग सम्बन्ध स्थापित भएर नेपाल र भारत समानान्तर अघि बढ्नुपर्छ। नेपाली नेताहरू भारतीय कर्मचारीसँग कुम जोडेर गफिन्छन् भने मेरो भन्नु केही छैन।
(पूर्वराजदूत आचार्यले राजधानीमा केही दिनअघि आयोजित ‘महाशक्ति राष्ट्रहरूबीचको भूराजनीतिक प्रतिस्पर्धा र कूटनीतिक सन्तुलनको दिशामा नेपालको द्विविधा, चुनौती र सम्भावना विषयक’ अन्तरक्रियामा व्यक्त धारणाको सम्पादित अंश)