बाँके\बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ शान्ति र सद्भावको महान् पर्व ईदुल फितर शनिबार आज मनाएका छन् । बिहानै नेपालगञ्जस्थित केन्द्रीय ईदगाहमा सामूहिक नमाजबाट सुरु भएको ईदको औपचारिक कार्यक्रमपछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ ईद पर्व मनाइएको छ ।
देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिएको इदगाह सञ्चालक समितिका महासचिव ईर्फान सिद्धिकीले जानकारी गराए ।
सिद्धिकीले रमजान र ईदलाई शान्तिपूर्ण तरिकाले सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट समेत गरेका छन।
इदगाहमा नमाज सम्पन्न भएलगत्तै पूर्वमन्त्री मोहम्मद इश्तियाक राई, नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल मन्सुरी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई र करिम खान लगायतले अधिकांशलाई अङ्कमाल गरेर ईदको शुभकामना प्रकट गरेका छन। त्यसै गरी अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासनका प्रमुखहरू, व्यवसायी तथा उद्योगीले ईदगाहमा पुगेर शुभकामना आदान प्रदान गरेका थिए ।
तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा ईष्टमित्रहरुलाई खुवाउने परम्परा रहेको छ । यसअघि शुक्रबार मात्र रमजानको अन्तिम शुक्रबारलाई सानो ईदको रूपमा मनाएर विभिन्न मस्जिदमा अलबिदाको सामूहिक नमाज पढेर ईदको स्वागतको तयारी गरिएको थियो ।