१२ मंसिर २०८१, बुधबार

मन्त्रालयको सङ्ख्या कटौती मुख्य उपलब्धि
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार सय दिन पुगेको छ। नेकपा (एमाले)को तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो भने अर्को दिन पुस २८ गते शपथ  लिएका थिए ।

प्रदेश सरकारले सय दिन पूरा गरे पनि सरकारको सुरुको एक महिना भने मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा सुरुवाती दिनमै सरकारको काम कारबाही प्रभावकारी हुन सकेको थिएन।

सरकारलाई समर्थन दिएका आठ दललाई सरकारमा सहभागी गराएर भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई चुनौती बनेको थियो। मुख्यमन्त्रीले शपथ लिएको करिब एक महिनापछि मात्र मन्त्रीपरिषद्ले पूर्णता पाएको र त्यसपछि भने प्रदेश सरकारले महत्वपूर्ण काम अघि बढाएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ।

मन्त्रालयको सङ्ख्या १७ बाट कटौती गरी १० मा पु-याउनु  वर्तमान सरकारको मुख्य उपलब्धि रहेको मुख्यमन्त्रीको सचिवालयको दाबी छ। त्यसैगरी प्रदेश राजधानीको गुरुयोजनाअनुसार राजधानीको स्थायी संरचना निर्माणको काम सुरुवात हुनुलाई पनि सरकारले सय दिनको मुख्य उपलब्धिका रूपमा लिएको छ।

लुम्बिनी प्रदेश सभाका एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ सरकारलाई बुटवलबाट दाङमा गएर काम गर्न असहज देखिएको बताउँदै सरकारले सय दिनमा दूरगामी महत्वको राजधानी व्यवस्थापनको कामलाई गति दिन सकेको दाबी  गरेका छन।

प्रमुख सचेतक चौधरीका अनुसार नयाँ स्थानमा गएर राजधानी व्यवस्थापन गर्नुपर्ने काम सरकारका लागि चुनौती थियो तर सरकारले पाँच वर्षमा राजधानी निर्माण सम्पन्न गर्ने योजनाका साथ कामको सुरुवात गरेको छ। मुख्यमन्त्री कार्यालयका सचिवालय सदस्य अमृत गिरीले सरकारले मन्त्रालयको सङ्ख्या कटौती गरेर खर्च कटौती गर्न सफल भएको बताउँदै यातायात कार्यालयको सेवालाई बुटवलबाट अन्य जिल्लामा विस्तार गर्नुलाई महत्वपूर्ण कामका रूपमा लिनुपर्ने  बताए ।

देशका विभिन्न जिल्ला तथा प्रादेशिक अस्पतालमा रिक्त रहेको अस्पताल व्यवस्थापन समितिलाई पूर्णता दिएर सेवा प्रवाहमा चुस्तता दिन सरकार सफल भएको गिरीको दाबी छ।

प्रदेश सरकारले सय दिनमा गरेका कामको लेखाजोख हुँदै गर्दा सरकारले पुँजीगत खर्च बढाउन भने नसकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको चैतसम्मको नौ महिनाको अवधिमा प्रदेश सरकारको पुँजीगत खर्च ३० प्रतिशत पनि नपुगेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

विपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले भने सरकारको सय दिनमा प्रदेश सरकारले कामभन्दा पनि सरकारको जोड घटाउमै बिताएको आरोप लगाएका छन्। कांग्रेसका सांसद धनेन्द्र कार्कीले मुख्यमन्त्री गिरी नेतृत्वको सरकारले सरकार विस्तार र मन्त्रालयको भागबन्डामै सुरुको धेरै समय बिताएकोले जनताले महसुस हुने गरी काम भने गर्न नसकेको आरोप लगाउनुभयो। केन्द्रमा सत्ता गठबन्धनमा भएको परिवर्तनपछि भने त्यसको प्रभाव लुम्बिनी सरकारमा पनि परेको थियो।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech