१६ असार २०८२, सोमबार

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी
  • न्युज मानसराेवर

बाँके\बाँके राष्ट्रिय निकुञ्जमा गर्मीको मौसममा खहरे खोलाहरू सुक्ने गरेकाले वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेको छ।गर्मीमा निकुञ्जभित्र आवश्यकभन्दा निकै कम पानी हुने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन सोलार बोरिङसहित पोखरीहरू निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले  बताएका छन।  उनले   निकुञ्ज क्षेत्रभित्र रहेका ४५ वटा खहरे खोला गर्मीको बेला सुक्ने भएकाले पानीका लागि वन्यजन्तु यताउता भौँतारिने गरेको देखेर १० वटा सोलारजडित पोखरी निर्माण गरिएको  बताए ।

घाम लागेको समयमा सोलारबाट निरन्तर पोखरीमा पानी जम्मा हुने र जति बेला पनि वन्यजन्तुले पिउन सक्ने गरी पोखरीहरू निर्माण गरिएको प्रमुख संरक्षण अधिकृत शाहले उल्लेख गरेका छन।  पानीलाई क्रमिक र दिगो रूपमा व्यवस्थापन गर्दै लैजाने  बताइएको छ।

निकुञ्जले वन्यजन्तुको सहजताका लागि पोखरीसँगै घाँसेमैदानसमेत निर्माण गरेको छ। निकुञ्जको भूगोलअनुसार साढे चार सयवटा सोलार पोखरी र घाँसेमैदान आवश्यक छ।

हाल घाँसेमैदान २० वटा छन् भने सोलार पोखरी १० वटा मात्र छन्। एउटा सोलार पोखरी निर्माण गर्न १० लाख रुपियाँ लाग्ने जनाइएको छ। जैविक विविधता संरक्षण, बाघ र बाघको आहारा प्रजाति संक्षरणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि आहारा र पानी अभाव हुँदै गएको छ।  मध्यवर्ती तथा चुरे क्षेत्रमा रहेका प्राकृतिक स्रोतको उचित नियमन एवं व्यवस्थापन हुन नसक्दा वन्यजन्तुका लागि आहारा र पानी अभाव हुन थालेको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार अहिले अवैध चोरी सिकार, वन्यजन्तु–मानव द्वन्द्व, जलवायु परिवर्तन, पर्यटक अभावलगायतका समस्या निकुञ्जले भोगिरहेको छ।

निकुञ्जमा ३४ स्तनधारी, तीन सय पन्छी, २४ घस्रिने प्रजातिका र नौ प्रजातिका उभयचरसँगै माछा प्रजाति ५५ भन्दा बढी छन्। निकुञ्जमा संरक्षित स्तनधारी वन्यजन्तु सालक, बाघ, जङ्गली हात्तीलगायत पनि उल्लेख्य छन्।

संरक्षित पन्छीहरू कालो गरुड, राजधनेश, संरक्षित घस्रिने वन्यजन्तुमा अजिङ्गर, सुन गोहीलगायत रहेको निकुञ्जले जनाएको छ। बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा पाटेबाघ छन्। यो निकुञ्ज ५५० वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

 

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech