४ जेष्ठ २०८२, शनिबार

गुनासो पेटिकामा माकुरी जालो
  • न्युज मानसराेवर

सुर्खेत\सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि प्रयोग हुने गरेका छैनन् । बढ्दो सूचना र प्रविधिको प्रयोगले ती गुनासो पेटिका प्रयोगमा नआएका हुन् ।सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न कार्यालयमा राखिएका गुनासो पेटिका अहिले प्रयोगविहीन बनेका छन् ।

नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरूका गुनासा सङ्कलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले हरेक सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले उजुरी पेटिका राखेका हुन्छन् तर ती उजुरी पेटिका प्रयोगविहीन बनेका छन् । पछिल्लो समय नागरिकको भरपर्दो माध्यम इन्टरनेट बनेको छ ।

सुर्खेतका सबैजसो कार्यालयले उजुरी पेटिका राखेका भए पनि ती उजुरी पेटिका अहिले प्रयोगविहीन बनेका छन् । जिल्लाका मुख्य कार्यालय तथा अन्य ग्रामीण भेगमा रहेका कार्यालयमा राखिएका उजुरी पेटिका प्रयोगविहीन बनेका हुन् । आधुनिक सञ्चार प्रविधिको विकाससँगै सेवाग्राहीले उजुरी पेटिका प्रयोग नगरेपछि विभिन्न कार्यालयले राखेका उजुरी पेटिका माकुराको जालोले भरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी विष्णुप्रसाद न्यौपानेले अलिकति भए पनि विगतमा केही सुझाव आउने गरेकोमा पछिल्लो समय भने लिखित गुनासा (उजुरी पेटिकामा) नआउने गरेको  जानकारी गराए ।

कार्यालयमा राखिएका गुनासो पेटिकामा फाटफुट मात्र गुनासो सङ्कलन हुने गरेको उनको भनाइ छ । प्रविधिको विकास भएसँगै सेवाग्राहीले अरू माध्यमबाटै आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिका खाली भएको न्यौपानले बताए ।

उनले भने , “एक एक हप्तामा गुनासो पेटिका खोल्दा एउटा पनि गुनासो परेका हुँदैनन् । कहिलेकाहीँ महिनामा एकरदुईवटा मात्र गुनासो आउँछन् ।” जिल्ला प्रशासन कार्यालय सुर्खेतले इमेल, हेलो सरकारमार्फत आएका, टोल–फ्री नम्बर र गुनासो व्यवस्थापन केन्द्रमा गरिएका गुनासोको सम्बोधन गर्ने गरेको छ । केही गुनासो कार्यालयमै भेटेरै नागरिकले दिने गरेको उनले भनेका छन।

मालपोत कार्यालय सुर्खेतमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउने व्रmम लगभग बन्द नै भएको छ । सेवाग्राहीले सहज रूपमा सेवा पाइरहेकाले पछिल्लो समय उजुरी पेटिकामा गुनासो आउने व्रmम रोकिएको कार्यालयका सूचना अधिकारी गगनसिंह सोमैले  बताए ।

प्रकृया झन्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको उनको बुझाइ रहेको छ । हिजोआज कार्यालयमा गुनासो सुन्ने सहज व्यवस्था गरिएकाले पनि गुनासो पेटिकामा गुनासो कम आउने गरेको उनले भनेका छन सोमैले भने , “कार्यालयमा कामको चाप कमै छ । सेवाग्राहीले सहज रूपमा सेवा पाइरहेका छन। लाइनमा बस्नुपर्ने, भिडभाडको अवस्था छैन ।” धेरैजसो नागरिकले मौखिक रूपमै गुनासो राख्ने गरेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकामा राखिएको उजुरी पेटिकामा नागरिकका गुनासो कमै मात्रै आउने गरेका छन् । नगरपालिकाको भित्तामा झुन्ड्याइएको पेटिकामा महिनामा कहिलेकाहीँ त एउटा पनि सुझाव पर्दैनन् । टेलिफोन, इमेल र कार्यालयमै भेटेर नागरिकले गुनासो राख्ने गरेको नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले  बताए ।

उनले भने , “नागरिकलाई उपलब्ध भएको सेवाबाटै गुनासो आउँछ । इन्टरनेटको विस्तार तथा सामाजिक सञ्जालको बढी गुनासो आउने गरेको छ ।” हरेक सरकारी कार्यालयमा नागरिकको गुनासो, उजुरी र सुझाव सङ्कलनका लागि उजुरी पेटिका राख्ने गरिएको हुन्छ ।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech