बाँके\नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ। राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ।
जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जिल्लामा जनसङ्ख्या घटेको छ। यसैगरी सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बागलुङ, लमजुङ, पाल्पा, म्याग्दी, ओखलढुङ्गा, ताप्लेजुङ, नुवाकोट, काभ्रेपलाञ्चोक, इलाम, दैलेख, बैतडीमा पनि जनसङ्ख्या घटेको छ।डोटी, धादिङ, बझाङ, डडेल्धुरा, सल्यान, सोलुखुम्बु, तनहुँ, सङ्खुवासभामा पनि जनसङ्ख्या घटिरहेको छ।
त्रिवि केन्द्रीय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा डा योगेन्द्र गुरुङ सेवा सुविधा केन्द्रीकृत भएर मानिस बसाइँसराइ गर्दा जनसङ्ख्या ती जिल्लामा घटेको बताउँछन्। “जहाँ सेवा सुविधा केन्द्रित छन् त्यहाँ बसाइँसराइ बढी भएको छ। वैदेशिक रोजगारले गर्दा आर्थिक अवस्था राम्रो भयो। त्यसले राम्रो अवसर शिक्षा, स्वास्थ्य, रोजगार खोज्न थालेपछि बसाइँसराइ भयो”, उनले भने, “अनि जनसङ्ख्या वृद्धिदर पनि कमी भयो।”
रामेछाप र सिन्धुपाल्चोकमा भूकम्पले गर्दा असर गरेर मानिस धेरैले काठमाडौँ बसाइँसराइ गरेका छन्। जनगणनाले सेवा सुविधा अझै केन्द्रित रहेकाले नै हिमाली तथा पहाडी जिल्लाबाट बसाइँसराइ तराईमा भएको देखाएको छ। गुरुङले प्रदेशलाई अधिकार सम्पन्न बनाउने हो भने प्रदेशहरुले गर्नसक्ने विकास आफ्नो जिल्लामा गर्ने र ती जिल्लाको जनसङ्ख्या त्यहीँ रोकिन सक्ने बताए।
केन्द्रीय विभागका प्रा डा गुरुङका अनुसार जनगणनाले नेपालको जनसाङ्ख्यिक वितरणमा व्यापक असन्तुलन देखाएकाले यसको उचित सम्बोधनका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्छ। सबैभन्दा बढी जनसङ्ख्या क्षय भएको जिल्ला रामेछाप हो। जनगणनाको प्रतिवेदनअनुसार २०६८ सालमा दुई लाख दुई हजार छ सय ४६ जनसङ्ख्या रहेकामा २०७८ मा एक लाख ७० हजार तीन सय दुई मात्र जनसङ्ख्या रहेको छ। रामेछापमा ३२ हजार जनसङ्ख्या घटेको छ।