बाँके\प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ। कार्यव्यवस्थाले तय गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
संसद् नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् र प्रधानमन्त्रीले तत्कालै जवाफ दिनेछन्। सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नको विषय सभामुख देवराज घिमिरेलाई पहिले नै जानकारी गराउनुपर्ने हुन्छ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न १५ जना सांसदले नाम टिपाएका छन्। एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था नियमावलीमा छ। सांसदहरूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्ने जानकारी सभामुखलाई गराएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, आर्थिक संकटलगायत अहिलेका जल्दाबल्दा विषय हुन्।