७ बैशाख २०८२, आईतवार

डब्ल्युडब्ल्युएफले नेपालमा काम गरेको ३० वर्ष पुग्यो, आज विशेष कार्यक्रम गरिँदै
  • न्युज मानसराेवर

बाँके\विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ)ले नेपालको संरक्षण क्षेत्रमा काम गरेको ३० वर्ष पुगेको अवसरमा आज शुक्रवार विशेष कार्यक्रम गर्दैछ ।डब्ल्युडब्ल्युएफ नेपालमा सन् १९९३ मा स्थापना भई वनजंगल, वन्यजन्तु तथा पानी संरक्षण, जलवायु र ऊर्जा, सुशासन लगायतका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ ।

स्थापनाको ३०औं वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा डब्ल्युडब्ल्युएफका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले नेपालमा लागू भएका जनसहभागितामा आधारित वन, वातावरण र वन्यजन्तु संरक्षणका कार्य विश्वमै नमूना बनेको बताए ।

डब्ल्युडब्ल्युएफ नेपालमा प्रवेशका चरणमा राष्ट्रिय निकुञ्जमार्फत वन तथा वन्यजन्तुको संरक्षण कार्य भइरहेको अवस्थामा त्यसपछि मात्र समुदायको सहभागितामा समुदायमार्फत नै संरक्षित क्षेत्रको व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयले प्राथमिकता पाएको हो ।

डा. गुरुङले समुदायमा आधारित कञ्चनजंघा संरक्षण क्षेत्रको उदाहरण दिँदै जनतालाई हस्तान्तरण गर्ने विषयमा कोषको पहलमा नेपाल सरकारको नेतृत्वमा स्थानीय समुदायको सहभागितासहित अहिले जनताले नै राम्रोसँग व्यवस्थित गरेको सुनाए ।

‘कञ्चनजंघा संरक्षण क्षेत्र सरकारले सन् २००६ मा हस्तान्तरण गर्‍यो । भारत र चीनको सिमानासँग जोडिएको क्षेत्रमा यसरी जनतालाई व्यवस्थापन गर्न दिइएको संरक्षणको कार्य यस क्षेत्रको कोशेढुंगा सावित भएको छ,’ उनले भने । कञ्चनजंघा संरक्षण क्षेत्रमा हाल आमा समूहले संरक्षणको कामका साथै आयआर्जनका काम गरी लाभ लिइरहेका छन् ।

जनसहभागिता संरक्षणका कार्यबाट नै अहिले प्रकृतिमा आधारित होमस्टे, वन्यजन्तुमा आधारित पर्यटन फस्टाएका छन् । बर्दियाको वन्यजन्तुमा आधारित पर्यटन विश्वमै चर्चित छ । कोषले कतिपय क्षेत्रमा विद्युतीकरण गर्नुका साथै बायोग्यासको प्रयोग गरी स्थानीय र सरकारलाई विभिन्न लाभ लिनका लागि योगदान पुर्‍याएको छ । यसैगरी जनसहभागितामा आधारित अन्नपूर्ण संरक्षण क्षेत्रका कारण माथिल्लो मुस्ताङ पर्यटको गन्तव्य बनेको छ  ।

डब्ल्युडब्ल्युएफ नेपालले नै सरकारसँग मिलेर नेपालमा निकुञ्जभित्र लामो दूरी हिँडडुल गर्ने बाघ, गैंडाजस्ता ठूला जनावरको संरक्षणका लागि देशभित्र र देशको सीमा बाहिरसम्म विभिन्न भौगोलिक क्षेत्रमा भूपरिधि कार्यक्रमको अवधारणागत संरचनामा योजना बनाउन तथा कार्यान्वयनमा सहयोग गरेको गुरुङले बताए । यसकै परिणाम आज भूपरिधि स्तरको संरक्षणले विश्वव्यापी रूपमा मान्यता पाएको छ ।

३ दशकअघि नेपालमा बाघ र गैंडाजस्ता वन्यजन्तुको संरक्षण गर्न कठिन रहेको र अहिलेको तुलनामा थोरै संख्या (करीब १०० संख्या) मा थिए । द्वन्द्वकालमा वन्यजन्तुको चोरी शिकार धेरै हुने गरेको थियो । त्यस्तो परिस्थितिमा नेपाल सरकार, डब्ल्युडब्ल्युएफ र सरोकारवाला निकायको सहयोग र समन्वयमा अहिलेको ऐतिहासिक सफलता प्राप्त भएको गुरुङको भनाइ छ ।

पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ छ । गैंडाको संख्या ७५२ पुगेको छ । नेपालको संरक्षणको प्रयासले हिउँ चितुवाको ठूलो संख्यामा वृद्धि भएको डा. गुरुङले बताए । वन्यजन्तु संरक्षणमा भूपरिधि र प्रजाति तहको सफलतासँगै जनसहभागिताबाट संरक्षण गर्न सकिन्छ भन्ने कुरा नेपालले विश्वमै प्रमाणित गरेको छ ।

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech