भारतमा चियाको आयातमा अवरोध हुने खालको त्यहाँको संसदीय समितिको प्रतिवेदनका कारण लामो समय नेपालको चिया क्षेत्रमा एक प्रकारको अनिश्चयको वातावरण छाएको थियो । दार्जिलिङ चियामा अन्य चिया मिसाउन नपाउने निर्णयका कारण नेपालको चिया ठप्पै हुने अवस्था समेत सृजना भएको थियो । जुटमा एन्टी डम्पिङलगायत सरोकारका कारण नेपालको जुट उद्योगमा परेको प्रभावका बारेमा सबै पक्षलाई विदितै छ । नेपाली जडीबुटी क्षेत्रले भारतका अदालतको लामो प्रक्रियाबाट गुज्री त्यसतर्फको निर्यातलाई सहज बनाइरहेको उदाहरण पनि रहेको छ । पाटन बहुमुखी क्याम्पसको टीमले गरेको एक अध्ययनले नेपालको भारततर्फको निर्यातमा प्रक्रियात्मक, संस्थागत, संरचनागत र नीतिगत गरी चारओटा व्यवधान रहेको निष्कर्ष निकालेको छ ।
भारतको निर्यातको दशौं सबैभन्दा ठूलो बजार नेपाल नै रहेको छ । नेपाल र भारतबीचको सेवा व्यापार पनि भारतकै पक्षमा रहेको छ । अनौपचारिक व्यापारका कारण भारतको उत्तरी सीमाका सीमावर्ती शहरका करोडौं जनताको जीवनस्तरमा वृद्धि भएको देखिन्छ । यसरी भारतको विशाल बजारमा नेपालको सानो आकारको निर्यातलाई बाधारहित रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न प्रधानमन्त्रीको भारत भ्रमणलाई उचित अवसरका रूपमा लिइनु आवश्यक छ ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई अन्य क्षेत्रमा भैंm निर्यात क्षेत्रमा पनि विशेष महत्र्व र उत्सुकताका साथ हेरिएको छ । नेपालको वस्तु निर्यातमा भारतले २ तिहाईभन्दा बढी अंश ओगट्ने हुँदा र भारततर्फको निर्यातमा हुने वृद्धि र ह्रासले नेपालको समग्र निर्यातको सम्पादन प्रभावित भइरहेको सन्दर्भमा यस भ्रमणलाई निर्यात क्षेत्रले विशेष महत्र्वका साथ हेरेको छ ।
नेपालको भारततर्फको निर्यातमा हुने उतारचढावमा बजार पक्षभन्दा पनि दुई देशबीच हुने उच्चस्तरीय समझदारी र उक्त समझदारी सृजित सन्धिसम्झौता तथा भारतमा कर, भन्सार दर तथा गुणस्तरसम्बन्धी प्रावधानहरूमा आउने अनुकूल नीतिहरू नै प्रधान कारक तत्र्वका रूपमा रहेका छन् । नेपालका प्रधानमन्त्रीको भारतका प्रधानमन्त्रीसँग कायम हुने सौहार्द समझदारीले निर्यात क्षेत्रमा रहेका विभिन्न व्यवधानहरूको अन्त्य भई निर्यात क्षेत्रले नयाँ गति लिने गरेका केही दृष्टान्त छन् । विशेष गरी सन् १९९० मा नेपाल भारतबीच भएको समझदारीपछि नेपालमा भारतीय कम्पनीहरूको लगानी वृद्धि भई यस लगानीले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन दुवै थरी ढोका खोलेको स्पष्ट छ । उपर्युक्त परिस्थितिका माझ नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यात क्षेत्रमा देहायका विषयमा ध्यान केन्द्रित होस् भन्ने नेपाली निर्यात क्षेत्रको अपेक्षा रहेको छ ।
पहिलो, म्यानुफ्याक्चरिङ तथा खाद्य प्रशोधन क्षेत्रमा भारतीय लगानी आकर्षित हुने गरी भारतीय पक्षको हार्दिक सदाशयता आर्जन गर्ने विषय यस भ्रमणको प्राथमिकतामा राखिनु आवश्यक देखिन्छ । यस्तो लगानीले एकातिर नेपालको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने नेपाल सरकारको अभियानलाई सहज गर्ने देखिन्छ भने अर्कोतिर भारततर्फको निर्यातमा रहेको वर्तमान जडताको अन्त्य भई निर्यातमा नयाँ उचाइ छुने निश्चित छ । विशेष गरी भारतीय बहुराष्ट्रिय कम्पनीहरूको नेपालमा हुने लगानीले आयात प्रतिस्थापन, निर्यात वृद्धि र स्वदेशमा रोजगारीका अवसरहरू समेत उल्लेख्य मात्रामा बढाउने तीनओटा दुवै भूमिका एकैसाथ खेल्ने देखिन्छ । नेपालमा हाल डाबर नेपाल र युनिलिभरजस्ता भारतीय बहुराष्ट्रिय कम्पनीहरूको आयात प्रतिस्थापन र भारततर्फको निर्यातमा उल्लेख्य अंश रहेको सन्दर्भमा यस प्रकृतिका अन्य कम्पनीहरूलाई पनि नेपालमा लगानी गर्न सहमत तुल्याउने गरी नेपालको निजीक्षेत्रलाई पनि यस भ्रमणको अवधिमा थप क्रियाशील बनाउन आवश्यक देखिन्छ । यसो गर्न ती कम्पनीलाई थप सहुलियत र छूटहरूको प्रावधानका सम्बन्धमा पनि आवश्यक घोषणा गर्नु जरुरी देखिएको छ ।
दोस्रो, नेपाली निर्यातकर्ताले गरिरहेको एउटा महत्र्वपूर्ण मागमा नेपालको भारतर्फको निर्यात अनुमानयोग्य हुनुपर्ने नै हो । स्पष्ट भाषामा भन्नुपर्दा नेपालका सबै निर्यातयोग्य वस्तुहरूका साना निर्यातकर्ता हुन् या ठूला निर्यातकर्ता हुन्, सबैलाई भारतीय भन्सार विन्दुमा एकैनासको व्यवहारको प्रत्याभूति आवश्यक रहेको टड्कारो रूपमा महसूस गरिएको छ । विशेष गरी भारतमा उत्पादन वृद्धि भएको समयमा नेपाली निर्यातयोग्य वस्तुहरूलाई भारतमा एक न एक बहानामा अवरोध सृजना हुने गरेको नेपाली व्यवसायीहरूको गुनासो रहेको छ । साना निर्यातकर्ताहरूले भारतीय भन्सार विन्दुहरूमा असहज व्यवहारको सामना गर्नु परेको गुनासो साना व्यवसायीहरूको रहेको छ । यस सरोकारलाई सम्बोधन हुने गरी प्रधानमन्त्री तहको वार्तामा प्रत्याभूति हुँदा भारतीय प्रशासनको तल्लो तहमा समेत सकारात्मक सन्देश प्रवाह भई नेपाली निर्यातले भोगिरहेको गैरभन्सार अवरोध अन्त्य हुने देखिन्छ । तसर्थ प्रधानमन्त्रीको भारत भ्रमणमा यस विषयलाई उच्च प्राथमिकता दिई आवश्यक समझदारी हुनु आवश्यक देखिएको छ ।
यस्तै कुनै कालखण्डमा कुनै वस्तु विशेषको निर्यात ≈वात्तै बढ्ने र केही समयपछि त्यस्ता निर्यातहरू शून्यमा झर्ने या ठूलो दरमा ह्रास हुने प्रवृत्ति छ । वनस्पति घ्यू, एक्रेलिक यार्न, तामाका उत्पादनहरू र जिंक अक्साइड यसका केही प्रतिनिधि उदाहरण हुन् । हाल पाम तेल, भटमासको तेल र सूर्यमुखी तेलको निर्यातमा पनि यही प्रवृत्ति दोहोरिने संकेत देखिएको छ । नेपालतर्फको भारततर्फको निर्यातमा ‘पुन: मुषिको भव’ को प्रवृत्तिलाई रोक्न पनि प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा आवश्यक पहल हुनुपर्ने सम्बद्ध निर्यातकर्ताको माग रहिआएको छ । तेस्रो मुलुक र भारतबाट कच्चापदार्थ आयात गरी नेपालमा निश्चित तहको मूल्ययोग र एचएसकोडमा कम्तीमा एक तहको रूपान्तरण गर्ने गरी भइरहेका यस्ता निर्यातले नेपालको वैदेशिक व्यापारमा निर्यात आयात अनुपात कम गर्न धेरै महत्र्वपूर्ण भूमिका खेलेको विषयलाई यहाँ उल्लेख गर्नु वाञ्छनीय छ ।
तेस्रो, क्वारेन्टाइनका प्रावधानहरूमा रहने स्वैच्छिक, अनुमान गर्न नसकिने र अपायक व्यवहार पनि नेपालकोे भारततर्फको निर्यातमा प्रमुख समस्याका रूपमा रहेको नेपाली निर्यात क्षेत्रका भुक्तभोगीको भनाइ रहेको छ । विशेष गरी चाँडै कुहिने र सड्ने प्रकृतिका चिया, अदुवा, अलैंची, अदुवा तथा ताजा तरकारीजस्ता कृषिजन्य उत्पादनहरूको निर्यात अपायक स्थानमा अवस्थित भारतीय क्वारेन्टाइन अफिस तथा प्रयोगशालाका कारण प्रभावित हुँदै गएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो विषयले विशेष गुरुत्व प्राप्त गर्न आवश्यक देखिन्छ । यसरी उपर्युक्त तीनओटा क्षेत्रमा केन्द्रित रही प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यात क्षेत्रका एजेन्डाहरूलाई सम्बोधन हुन जरुरी देखिएको छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।