काठमाडौँ\सरकारले आउँदो श्रावणदेखि करिब निमित्त प्रमुख प्रशासकीयको भरमा स्थानीय तह सञ्चालन गर्ने अवस्थालाई पूर्ण रूपमा अन्त्य गर्ने भएको छ ।
देशभरका करिब १ सय ५० स्थानीय तह निमित्तको भरमा चलिरहेको जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले श्रावण महिनादेखि निमित्तबाट प्रशासन चलाउने परिपाटीलाई अन्त्य गर्ने तयारी गरिरहेको हो । मन्त्रालयका अनुसार अझ पनि १ सय ३३ देखि १ सय ४५ जति स्थानीय तह निमित्त प्रमुख प्रशासकीयको भरमा चलिरहेको छ । यो संख्या दुई महिनाअघिसम्म दुई सयको हाराहारीमा थियो ।
स्थानीय तहमा खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई निमित्तको भरमा स्थानीय तह सञ्चालन गर्ने परिपाटीले अनेक विकृतिविसंगतिलाई बढी मलजल गर्ने गरेकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बताएका छन। ‘हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गर्ने परिपत्र जारी गरेको भए पनि जेठ, असारको समयमा सामाजिक सुरक्षा भत्ता, तलब भत्तालगायत अन्य काममा असर पर्ने देखिएपछि एक महिनापछि देखि निमित्तको भरमा स्थानीय तह चलाउने क्रमलाई अन्त्य गरिनेछ’ –मन्त्री मोदीले भनेका छन।
मन्त्री मोदी आएपछि १२ वटा स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासनबाट खटेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गर्न नदिने भन्दै पत्र थमाएर पठाएका थिए । हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र पठाएको थियो । मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको थियो ।