१३ बैशाख २०८२, शनिबार

भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव
  • न्युज मानसराेवर

बाँके\भेरी अस्पताल नेपालगञ्जले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको रेबिज विरुद्धको भ्याक्सिन सकिएको जानकारी गराएको छ । अस्पतालले सोमबार सर्वसाधारणका लागि एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

कुकुरले टोकेकोमा लगाउने सुइँ(एन्टी रेबिज भ्याक्सिन हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएकोमा भ्याक्सिनको मौज्दात सकिएकोले सो सेवा दिन नसकिने जानकारी अस्पतालले सूचनामार्फत गराएको हो।

भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईँले कुकरले टोकेपछि लगाइने रेबिज विरुद्धको भ्याक्सिन अस्पतालले आफै उपलब्ध गराउनेभन्दा पनि केन्द्र र प्रदेश मार्फत प्राप्त भएको डोज आवश्यकता अनुसार वितरण मात्र गर्दै आएको  बताए ।उनले अस्पताललाई हालसम्म मासिक आठ सय भायल भ्याक्सिनको कोटा प्राप्त भएतापनि माग त्यो भन्दा धेरै उच्च रहेकोले सो भन्दा पनि बढी वितरण गरिएको बताए ।

प्रमुख डा. चापागाईँले नियमित रूपमा बुटवलबाट प्राप्त हुने उक्त भ्याक्सिनको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भएपनि बिरामीलाई राहत दिइएको उल्लेख गरे । तर हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त भ्याक्सिनको मौज्दात माग अनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा रहेको मौज्दात पनि सकिएको अवस्था रहेकोले भ्याक्सिनको आपूर्ति सुचारु नहुन्जेल निःशुल्क रेबिज विरुद्धको भ्याक्सिन दिन नसकिने अस्पतालले जनाएको छ ।

कुकरले टोकेर अस्पतालमा आएका बिरामीलाई चिकित्सकले अपरिहार्य ठहर्‍याएको अवस्थामा बिरामीले आफैँ उक्त भ्याक्सिन खरिद गरी लिई आएमा सो भ्याक्सिन लगाउने कार्य भने जारी राखिएको अस्पतालले जनाएको छ । उक्त भ्याक्सिन निकै महँगो पर्ने भएकोले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा भ्याक्सिन तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले तत्काल अस्पताललाई रेबिज विरुद्धको भ्याक्सिन उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको छ । उनले तत्काल भ्याक्सिन न पठाइए गरिब र विपन्नलाई उपचारमा समस्या हुने बताएका छन।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech