बुटवल\रुपन्देहीको तिलोत्तमा १६ मा लागुऔषध प्रयोग कर्ताबीच भएको मनमुटावले एक युवाको हत्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भएका १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा–१६ पूर्व बहियामाका २२ वर्षीय ज्ञान बहादुर कुँवरले हत्या गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलले आज हत्या अभियोगमा २२ वर्षीय ज्ञान बहादुर कुँवरलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
आफैसँग बसेका १८ वर्षीय सुमन कुँवरको यही मँगलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ।
मगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कुँवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्या गरेर फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताएका छन।
अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि।क।ले बताउनु भयो । अभियुक्तलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।