बाँके\लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष दिने ३ विधामा ५ पत्रकारलाई गर्ने कार्यक्रम अन्तिम समयमा रोकिएको छ । सञ्चारसमेत हेर्ने आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सिफारिस समितिले गरेको निर्णयका आधारमा ३ जनालाई जनही ५० हजारको क्रियाशील पत्रकार सम्मान, एक जनालाई १ लाखको वरिष्ठ पत्रकार सम्मान र एक जनालाई ५० हजारको वन तथा वातावरणका क्षेत्रमा उत्कृष्ट लेखन विधामा सम्मान गर्ने चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम हो ।
यसका लागि विज्ञसहितको समिति बनेर, निवेदन माग गरी सर्वसम्मत निर्णय गरेर पठाइए पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र उनको सचिवालयले अन्तिम समयमा रोकेपछि वितरण हुन सकेन ।विभागीय मन्त्रालयले यसरी दिइने सम्मान कार्यक्रमका लागि सबै प्रक्रिया पूरा गरेर फाइल तयार गरे पनि सम्मान पाउनेमा उनी निकटका व्यक्तिहरू नपरेपछि रोकिएको समितिका एक सदस्यले बताए ।
छनौट समितिमा मुख्यमन्त्री कार्यालयका उपसचिव, बन मन्त्रालयका अधिकृत मदन मोहन शाडिल्य, सञ्चार प्रतिष्ठान लुम्बिनीका अध्यक्ष मिलन गाहा, विज्ञ समूहको तर्फबाट सुदिप गौतम, पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, आन्तरिक मन्त्रालयका उपसचिव यमबहादुर कुँवर, कानुन उपसचिव खिमानन्द ज्ञवालीको सामुहिक बैठक बसेर सबै प्रक्रिया पूरा गरेर आएका ५ जनाको नाम सर्वसम्मत रूपमा पठाइएको थियो ।
मन्त्रालयले असार १२ गते एक साताको समय राखेर सूचना निकालेपछि असार १९ गते छनौट समिति बसेर सर्टलिस्ट बनाएको, २० गते र २२ गते बैठक बसेर छनौट गरेको, २४ गते वितरण गर्ने अन्तिम निर्णयअगावै २३ गते मुख्यमन्त्री कार्यालयबाट फाइल मगाएर रोकिएको थियो ।
आफू निकटका व्यक्तिहरू छुटेपछि केही समय समय थपेर अगाडि बढाउन खोजेपनि कर्मचारीले सबै प्रक्रिया पूरा गरिसकेकाले नमिल्ने बताउपछि रोकिएको हो । सञ्चार समन्वय परिषद् लुम्बिनीका अध्यक्ष मिलन गाहाले सिफारिस समितिले सबै प्रक्रिया पूरा गरेर सर्वसम्मत सिफारिस गरिए पनि सञ्चार सम्मान कार्यक्रम रोकिँदा आश्चर्य लागेको बताए ।
‘विभागीय मन्त्रालयले मुख्यमन्त्री कार्यालयको प्रतिनिधिसमेत राखेर छनौट समितिले सिफारिस गरेर पठाएको हो, मुख्यमन्त्री कार्यालयबाट फर्काइएको सूचना मन्त्रालयबाट मलाई आएको छ, चालु आवको बजेटमा रहेको कार्यक्रम रोकिनु राम्रो होइन, विगतको निरन्तर कार्यक्रम रोकिनु सकारात्मक पक्ष होइन, यो छिटो कार्यान्वयन होस्’ उनले भने ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष तथा छनौट समितिका सदस्य वसन्त गिरीले समितिले गरेका निर्णयमा कुनै दल निकटकालाई भेदभाव नगरी आवेदन आएकाहरूबाट प्रक्रिया पुराएर निर्णय गरिएको र कार्यविधिअनुसार गरिएको निर्णय कुनै दल विशेषको स्वार्थमा रोक्न नहुने बताए ।
’यो यसअघिका दुई सरकारले गरेको नियमित कार्यक्रम हो, छनौटको समयमा केही कमजोरी भएको भए पहिले भन्नुपर्ने थियो, सबै प्रक्रिया पूरा गरेर टुंगेको विषय रोकिनु किमार्थ उचित होइन, कसका मान्छे परे, कुन दलका परे भन्ने हामीले हेरेनौ, निवेदनमा माग भएअनुसारको प्रमाण हेरेर सर्वसम्मत निर्णय गरेका हौं, यसरी पत्रकारले पाउने सम्मान तथा पुरस्कार रोक्न खोजिए महासंघलाई स्वीकार्य हुनेछैन’ गिरीले भने ।
आन्तरिक मामिला मन्त्री र मुख्यमन्त्री तथा उनीहरूको सचिवालयका सबैलाई एकपटक यसको कार्यविधि हेर्न र यसरी रोक्न मिल्छ वा मिल्दैन भन्ने प्रष्ट हुने उनले बताए ।आन्तरिक मामिला मन्त्रालय लुम्बिनीका सूचना अधिकारी तुलसीराम पौडेलले सम्मान कार्यक्रम तत्कालका लागि रोकिएको बताए । ‘यसलाई पछि छलफलपछि अगाडि बढाउने भनिएको हो, अहिले धेरै नबोलौँ’ उनले भने ।
मन्त्रालयका सचिव लालबाबु कबारीले समन्वय नहुँदा समयमा सम्मान कार्यक्रम गर्न नसकेको तर यसलाई रोकिएको भन्न नमिल्ने दाबी गरे ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले समन्वय अभावमा र केही प्रक्रिया पूरा नभएकाले ढिलाइ भएको हुनसक्ने तर आन्तरिक मन्त्रालयबाट आएको फाइल मुख्यमन्त्री कार्यालयले नरोकेको दाबी गरे ।आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले भने पत्रकार सम्मान कार्यक्रम ढिलाइ भएपनि नरोकिने बताए ।
‘म यसमा सचेत छु, चालु आवको बजेट कुनै शीर्षकमा राखेर भएपनि यसलाई रोक्नेछैन, मात्रै समयमा भएन भन्ने हो, अब यसको कार्यविधिलाई अलिक फराकिलो बनाएर अहिलेभन्दा दोब्बर संख्यामा पत्रकार सम्मान गरिने छ, बजेट फ्रिज हुँदैन, कम्तीमा काम गरेका पत्रकारले पाउन् भन्ने हो’– उनले भने ।