बैंकिङ क्षेत्रको तरलताले लघुवित्त क्षेत्रको वित्तीय स्रोतलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । बैंकिङ क्षेत्रमा तरलता अधिक वा न्यून हुँदा लघुवित्त संस्थाको वित्तीय स्रोत संकलन कार्य क्रमश: सहज र कठिन हुने गर्छ । सामान्यतया बैंकिङ क्षेत्रमा तरलताको उपलब्धताले ब्याजदर निर्धारण हुने गर्छ । बैंकिङ क्षेत्रको ब्याजदरले लघुवित्त संस्थाको वित्तीय स्रोत संकलनको लागत प्रभावित हुने भएकाले लघुवित्त संस्थामार्फत प्रवाह हुने कर्जाको मात्रासमेत घटबढ हुने गर्छ ।
कोभिडको समयमा बैंकिङ क्षेत्रमा भएको अत्यधिक तरलताले आधार दरभन्दा कम ब्याजदरमा लघुवित्त संस्थाले विपन्न वर्ग कर्जा सापटी पाएका थिए भने कोभिडको समाधानपछि तरलतामा संकुचन आई यस्तो ब्याजदर १५ प्रतिशतसम्म पुगेको थियो ।
हाल तरलता सहज भएकाले ब्याजदर घट्ने क्रममा रहेको छ । कोभिड काल एउटा प्रतिनिधिमूलक समय मात्र हो, लघुवित्त क्षेत्रले यस्तो अवस्था अनेकौंपटक भोग्दै आएको छ । यसरी कोषको लागतमा हुने उतारचढावले लघुवित्त संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको पाइन्छ । त्यसैले लघुवित्त संस्थाको वित्तीय स्रोतको लागतमा स्थायित्व ल्याउन वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्छ । यसो गर्न सकेमा कोषको प्राप्तिमा सहजता आई यस क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको समस्याको पहिचान र त्यसको समाधान विषयमा अध्ययन गरिरहेका बेला यस क्षेत्रको वित्तीय स्रोतको अवस्था र यसको दिगो व्यवस्थापनका लागि चाल्नुपर्ने कदमको बारेमा चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ ।
समूह सदस्यहरूबाट संकलन गरिने बचत, गैरसदस्यबाट निक्षेप, विपन्न वर्ग सापटी र डिबेन्चरबाट संकलित रकम नै लघुवित्त संस्थाको वित्तीय स्रोत हुन् । संस्थाले प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न पाउने व्यवस्था रहेको छ । २०७९ चैत मसान्तको तथ्यांक अनुसार ५७ ओटा खुद्रा कर्जाप्रदायक लघुवित्त संस्थाको बचत/निक्षेप संकलन रू. १६७ अर्ब (४९.५ प्रतिशत) र विपन्न वर्ग कर्जा सापटी रू १६९ अर्ब (५०.५ प्रतिशत) रहेको छ भने डिबेन्चरबाट हालसम्म रकम संकलन गरिएको छैन । यसरी कुल वित्तीय स्रोतमा बचतको अंश झन्डै ५० प्रतिशत र बाँकी विपन्न वर्ग कर्जा सापटी रहेकोे देखिन्छ । हाल लघुवित्त संस्थाले प्राथमिक पूँजीको ६ दशमलव ८१ गुणा मात्र वित्तीय स्रोत संकलन गरेकाले नियामकीय प्रावधानअनुसार २३ दशमलव १९ गुणासम्म थप वित्तीय स्रोत संकलन गर्नसक्ने अवस्था रहेको देखिन्छ ।
लघुवित्त संस्थाले हालसम्म आन्तरिक स्रोतबाट मात्रै वित्तीय स्रोत संकलन गर्दै आएको छ । लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको दिगो व्यवस्थापनका लागि हाल भइरहेको आन्तरिक स्रोतमा थप विस्तार गर्दै बाह्य स्रोतको समेत उपयोग गर्नु उपयुक्त हुन्छ ।
आन्तरिक स्रोत
लघुवित्त संस्थाले नियमित र स्वैच्छिक गरी दुई प्रकारका प्रोडक्टमार्फत बचत संकलन गर्दै आएका छन् । स्वैच्छिक बचतअन्तर्गत विगतदेखि सञ्चालनमा रहेको पेन्सन बचत नियामकको निर्देशनपछि आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा रहेको छैन । सदस्यको क्षमता र इच्छाअनुसार सानोसानो आकारमा संकलन गरिने पेन्सन बचतले सदस्यको भविष्य सुरक्षित हुुनुको साथै बचत गर्ने बानीको विकास गर्न सहयोग पुर्याउँदै आएको छ । भविष्यमा एकमुष्ट रकम फिर्ता पाइने यस्तो बचतबाट ठूलै गर्जो टर्नसक्ने भएकाले यस्तो बचतले सदस्यहरू लाभान्वित हुँदै आएको पाइन्छ । विगतमा भएका कमीकमजोरीलाई थप सुधार गरी यो बचत प्रडक्टलाई पुन: सञ्चालन ल्याउँदा सदस्य र संस्था दुवै लाभान्वित हुने देखिन्छ । त्यसैगरी संस्थामा कार्यरत कर्मचारीको तलबभत्ता संस्थामा नै खाता खोली बचत गर्ने व्यवस्था गर्न सकेमा एकातिर कर्मचारीलाई कारोबार गर्न सहज हुने र अर्कोतिर संस्थाका लागि वित्तीय स्रोतको संकलनको भरपर्दो स्रोत बन्न सक्छ ।
बाह्य स्रोत
वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण गर्न लघुवित्त क्षेत्रले खेल्दै आएको योगदानलाई दृष्टिगत गर्दै नेपाल सरकारले यस क्षेत्रको स्थायित्व र विकासका लागि वित्तीय स्रोत संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसका लागि राष्ट्रिय लघुवित्त कोषको निर्माण उपयुक्त अवधारणा हुनसक्छ । नेपाल सरकार आफैले वा लघुवित्त संस्थासँग गको संयुक्त योगदानमा राष्ट्रिय लघुवित्त कोषको निर्माण गरी वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने कार्य उपयुक्त हुनसक्छ । यसका साथै, वित्तीय प्रणालीमा रहेका सम्झौतामा आधारित बचत गर्ने संस्थाहरू (कन्ट्र्याक्चुवल सेभिङ इन्टिच्युुसन्स) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाको कोषलाई लघुवित्त क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न सके कोषप्रदायक संस्थाले राम्रो प्रतिफलमा सुरक्षित लगानी गर्न पाउने र लघुवित्त संस्थालाई वित्तीय स्रोतको भरपर्दो स्रोत उपलब्ध हुने भएकाले दुवै संस्थाहरू लाभान्वित हुनसक्छन् । वित्तीय क्षेत्रको तालुकी निकाय अर्थ मन्त्रालयमा नेतृत्व परिवर्तन भएपिच्छे लघुवित्त संस्थाका लागि वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने विषय जोडतोडका साथ उठान हुने र त्यसरी नै सेलाएर जाने गरेको कुरा सार्वजनिक हुँदै आएको छ । सरकारका यस्ता क्रियाकलापले यस क्षेत्रलाई निरुत्साहित बनाउँदै आएकाले सरकारले यस विषयलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने देखिन्छ ।
नीतिगत व्यवस्थाको आधारमा संकलन गर्ने बचत लघुवित्त संस्थाको लागि सबैभन्दा भरपर्दो वित्तीय स्रोत हो । हाल नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही तोकिएबमोजिमका बचत संकलन गर्न पाउने प्रावधान रहेको छ । यसरी बचत संकलन गरेपछि बचतकर्तालाई आवश्यक परेको समयमा नियमानुसार स्वैच्छिक बचत फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ । बचत फिर्ता दिँदा संस्थामा वित्तीय स्रोतमा कमी हुन्छ भन्ने संकुचित सोच बनाई बचतकर्तालाई अप्ठ्यारो परेको समयमा बचत फिर्ता नगर्ने प्रवृत्तिले बचत गर्ने कार्यलाई नै निरुत्साहित बनाउँछ । त्यसैगरी सदस्यलाई वित्तीय शिक्षाको माध्यमबाट वित्तीय कारोबारका बारेमा जानकारी दिने, कर्जाको सदुपयोग गरी सदस्यको आयस्तर बढाउनेलगायत कार्यले बचत गर्ने कार्यलाई थप प्रोत्साहन मिल्छ । यसरी सदस्य/बचतकर्तामैत्री वातावरणको निर्माणले सदस्य सन्तुष्ट हुने भएकाले संस्थाको वित्तीय स्रोत संकलनमा सहज अवस्था बन्दै जान्छ ।
लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको सहज र दिगो आपूर्तिले मात्र लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्न सकिन्छ । यसका लागि आन्तरिक स्रोतलाई थप व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकको र बाह्य स्रोतबाट थप वित्तीय स्रोत व्यवस्थापन गर्न नेपाल सरकारको पहल आवश्यक देखिन्छ । त्यसैले लक्षित वर्गलाई वित्तीय पहुँचमार्फत आर्थिक गतिविधिमा संलग्न गराई अर्थतन्त्रको मूलधारमा ल्याउन लघुवित्त संस्थाको भूमिकालाई प्राथमिकता दिँदै वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।