२ माघ २०८१, बुधबार

के आर्थिक क्षेत्रमा सुधार भएको हो ?
  • कमलराज ढुंगेल

भनिन्छ, नेपालको अर्थतन्त्र सबल छ । हो कतिपय आर्थिक सूचकमा सुधार भएको तथ्यांक सार्वजनिक भएको छ । कोभिड–१९ र रसिया युक्रेन युद्धले विश्वका मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ । त्यसबाट नेपाल पनि संकटग्रस्त भयो । अझै पनि यो संकटबाट नेपाल मुक्त हुन सकेको छैन । आन्तरिक र बाह्य दुवै ऋणमा वृद्धि भइरहेको छ । यो ऋणको प्रयोग उत्पादक क्षेत्रमा हुन सकेको छैन । नेपालीहरूका गास र वाससम्बन्धी जल्दाबल्दा समस्या यथावत् छन् । भ्रष्टाचार, कमिशन र तस्करीको जालो स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सबै निकायमा गहिरो रूपले फैलिरहेको छ ।

मन्दीको असर

अमेरिकालगायत विश्व अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ । मन्दीको असर मात्रात्मक रूपले जेसुकै भए पनि यसको असरले विश्वका सबै अर्थतन्त्र पीडित छन् । नेपालको अर्थतन्त्र आर्थिक मन्दीले थला पारिरहेको छ । नेपालको अर्थतन्त्रले मन्दीको सामना गर्न सकेको छैन । मानिसको क्रयशक्तिमा ह्रास भइरहेको छ । वस्तु तथा सेवाको मागमा ह्रास आइरहेको छ अर्थात् प्रभावकारी मागमा ह्रास आइरहेको छ । विकास निर्माण प्राय: सबै सुस्ताएको छ । व्यापार व्यवसाय धराशयी भएका छन् ।

उद्योगी व्यवसायी पलायन भइरहेका छन् । यसले अर्थतन्त्रको मेरूदण्ड उत्पादन क्षेत्रमा व्यापक ह्रास गराइरहेको छ । सरकारी राजस्व उत्साहजनक रूपमा वृद्धि हुन सकेको छैन । अर्थतन्त्रका प्रमुख वा मुख्य आर्थिक सूचकहरू नकारात्मक छन् । मानिसको आम्दानीमा कमी भइरहेकाले खर्च गर्ने प्रवृत्तिमा ह्रास आइरहेको छ । त्यसैले भन्न सकिन्छ, नेपालको अर्थतन्त्र मन्दीको चपेटामा फसिरहेको छ ।

श्रम र कच्चा पदार्थको मूल्य वृद्धिले उत्पादित वस्तुको लागत बढिरहेको छ । यस कारण व्यापारी वस्तुको मूल्य बढाउन बाध्य छन् । अर्थशास्त्रको सामान्य नियम के हो भने वस्तुको मूल्य बढ्दा माग घट्छ । माग घटेको अवस्थामा पनि उद्योगी व्यवसायी वा व्यापारीहरूले मूल्य घटाएर वस्तु उपलब्ध गराउन सक्दैनन् । यदि यसो गरेमा उद्योगी व्यवसायीहरू धराशयी हुन्छन् वा घाटामा जान्छन् । वस्तुको अभावले मूल्य वृद्धि हुन्छ । मूल्य वृद्धिका कारण उपभोक्ताले खर्चमा कटौती गर्छन् । यसले उद्योगी व्यवसायको आम्दानीमा ह्रास गराउँछ । फलस्वरूप उत्पादनमा नकारात्मक प्रभाव पर्छ । मन्दीको समयमा पनि मुद्रास्फीति हुन्छ जुन नेपालमा पनि सोही अवस्था भइरहेको छ । बैंकहरूले ब्याजदर बढाइरहेकाले उद्योग व्यवसाय सुस्ताएको छ ।

बढ्दो मुद्रास्फीति

अर्थतन्त्र मन्दीको चपेटामा रहँदारहँदै पनि नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांकका अनुसार सन २०२१/२२ को तुलनामा सन् २०२२/२३ मा मुद्रास्फीतिमा वृद्धि भएको छ । सन् २०२१/२२ मा उपभोक्ता मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेकोमा सन् २०२२/२३ मा यो ७ दशमलव ७४ प्रतिशत छ । बेरोजगारीका कारण मानिसको आम्दानीमा एकातिर ह्रास भइरहेको छ भने अर्कोतिर मुद्रास्फीतिका कारण दैनिक जीवन कष्टकर बनिरहेको छ । यो अवस्थाको निराकरण गर्ने सुधारका कार्यक्रमहरू पर्याप्त मात्रामा आउन सकिरहेको जस्तो अनुभव नेपाली जनताले गरिरहेका छैनन् । आम नागरिकको दैनिकी कष्टकर बनिरहेको छ ।

घट्दो आयात र निर्यात

गतवर्षको तुलनामा नेपालका केही आर्थिक सूचकहरूमा सुधार भएको देखिन्छ । हालै प्रकाशित नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार सन् २०२१/२२ को तुलनामा सन् २०२२/२३ मा आयात र निर्यात दुवै घटेको छ । सन् २०२१/२२ मा १९ खर्ब रहेकोमा सन् २०२२/२३ मा १६ खर्ब रुपैयाँ बराबरको आयात भएको थियो । निर्यात भने सन् २०२१/२२ को तुलनामा सन् २०२२–२३ मा केही घटेको छ । तर, औसतमा निर्यात दुवै वर्षमा हाराहारी नै देखिन्छ । स्वभावत: व्यापारघाटामा संकुचन आएको देखिन्छ । २०२१/२२ मा व्यापारघाटा १७ खर्ब रुपैयाँ थियो भने सन् २०२२/२३ मा यसमा ह्रास आई १४ खर्ब रुपैयाँ मात्र छ । यसले स्वभावत: शोधनान्तर स्थितिमा सुधार गराएको छ । सन् २०२१/२२ मा ३ खर्ब रुपैयाँले शोधनान्तर स्थितिमा घाटा थियो भने सन् २०२२/२३ मा सोही रकम बराबर धनात्मक रहेको छ । त्यस्तै गरेर सन् २०२१/२२ को तुलनामा सन् २०२२/२३ मा वैदेशिक मुद्राको सञ्चितिमा पनि वृद्धि भएको छ । अर्थात् सन् २०२१/२२ मा १२ खर्ब रुपैयाँ सञ्चिति थियो भने सन् २०२२/२३ मा यो बढेर १५ खर्ब रुपैयाँ पुगेको छ ।

राजस्वमा संकुचन

एक वर्षभित्रमा केले जादू देखायो, यो वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि । माथि उल्लेख भएअनुसार निर्यातमा प्रगति भएको देखिँदैन । केही हदसम्म आयात घटेको देखिन्छ । आयात घट्नुमा उपभोक्ताकोे वस्तु उपभोग क्षमतामा ह्रास आउनु पनि एक हो भन्न सकिन्छ । जब आयातनिर्यातमा ह्रास आउँछ तब सरकारी राजस्वमा कमी हुन्छ । सरकारको दैनिक वा मासिक रूपमा हुने खर्चका लागि ऋण लिनुपर्ने हुन्छ । ऋणको भार थुप्रिनु भनेको सरकारको आम्दानीको प्रमुख अंश ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुनु हो । निर्माण, सेवाक्षेत्र र विकासको त कुरा परै जाओस् कर्मचारीलाई तलब खुवाउन पनि सरकारी राजस्वले पुग्दैन । सरकार अझ बढी ऋणको कुचक्रमा फस्छ ।

कृषिमा पनि मन्दी

नेपाल कृषि उत्पादनमा पनि आत्मनिर्भर छैन । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान घट्दै गएको छ । हालै भारतले धान चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । धानचामल निर्यात प्रतिबन्धले नेपालको आर्थिक जगत् अप्ठ्यारोमा पर्नसक्छ । भारतको यो कदमपछि नेपाल सरकार नै अत्तालिएको छ ।

नेपालमा खाद्यान्नको आपूर्ति आयातबाट हुने गर्छ । सबै वस्तुको आयात भारतीय बजारबाट हुने गरेको छ । चाडबाडका बेलामा चामलको अभाव नहोस् भनेर सरकार आफैले भारतसँग गुहार मागिरहेको छ । कृषि उपजका लागि उपयुक्त उर्बर फाँटहरू बाँझा बनाइएका छन् । सिँचाइ, मलखाद र कृषि पेशालाई आकर्षित बनाउने कार्यक्रम आउनु त कता हो कता सरकार खाद्यान्न आयात गर्न आतुर छ । सरकारको यस्तो कार्यशैलीले नेपालको खस्कँदो अर्थतन्त्रलाई गति दिन सक्ला ?

विप्रेषण

चर्को उपभोक्ता मुद्रास्फीति र मन्दीका कारण सिकिस्त भइरहेको अर्थतन्त्रमा सास हाल्ने काम कसले र कुन स्रोतले गरिरहेको छ ? देशभित्रका उद्योग व्यवसाय ओरालो लागिरहेका छन् । कृषि व्यवसाय पनि सुस्ताइरहेको छ । व्यापार व्यवसाय अस्तव्यस्त नै छ । यस अवस्थामा केवल एक मात्र क्रियाशील व्यवसाय हो, वैदेशिक रोजगारी । नेपाली युवा कामको खोजीमा विदेश जाने क्रम तीव्र देखिन्छ । यदि विश्वका सबै अर्थतन्त्र मन्दीको शिकार भएका हुन् भने नेपाली श्रमिकको मागमा कमी आउने थियो ।

त्यसैले के आकलन गर्न सकिन्छ भने विश्वका अधिकांश अर्थतन्त्रले मन्दीको चपेटाबाट मुक्ति पाइरहेका छन् । कोभिड–१९ पछि केही मात्रामा सुस्ताएको वैदेशिक रोजगारी व्यवसायले गति लिएको छ । सन् २०२१/२२ मा नेपालभित्र १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक रोजगारीबाट भित्रिएको थियो । आर्थिक वर्ष सन् २०२२/२३ मा विप्रेषणमा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो रकम औपचारिक माध्यमबाट नेपाल भित्रिएको हो । अनौपचारिक माध्यमबाट भित्रिएको रकम यस रकममा समायोजन भएको छैन । भारतबाट नेपालमा वर्षेनि अर्बांै रकम भित्रिइरहेको छ, जसको लेखाजोखा हुने गरेको छैन, जसलाई अनौपचारिक क्षेत्रबाट भित्रिएको विप्रेषणको मात्रा भन्न सकिन्छ । यो तथ्यांकको आधारमा के भन्न सकिन्छ भने नेपालको अर्थतन्त्र जीवित राख्ने कार्य विप्रेषणले गरिरहेको छ ।

लेखक अर्थशास्त्री हुन् ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech