बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका –६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसुति भवन तथा एम्बुलेन्सको उद्घाटन गरिएको छ । पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमकाबीच सोमबार प्रसूति भवन तथा एम्बुलेन्सको उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
पालिकाका नौवटै वडामा प्रसूतिगृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शून्यमा झारिने उनको भनाइ छ । ‘पालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ । उनले भने , ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’ कमैयाडाँडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यसक्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनु पर्ने बाध्यताको अन्त्य भएको पौडेलको भनाइ छ । पालिकाले बर्थिङमा थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता समेत जनाएका छन।
योसँगै पालिकाका ७ स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् । अब आर्थिक वर्षमै शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर सञ्चालनमा ल्याइने पालिका अध्यक्ष पौडेलले जानकारीदिएका छन।
त्यसैगरी पालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडाध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाहलगायतले वर्थिङ सेन्टर सञ्चालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरेका छन।
२६ लाख २४ हजार ९ सय ५८ रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीलाई सेवा लिन सहज भएकोबताए ।
नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिब एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् ।
बर्थिङ सेन्टर सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमि तिलसरी घर्तीले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ओपिडी, डट्स सेन्टर, कुपोषित बालबालिका उपचार केन्द्र, सुरक्षित मातृत्वलगायतका सेवा प्रवाह गर्दैआएको अहेव चेतनाथ थारुले जानकारी गराएका छन।