कोहलपुर\कोहलपुर नगरपालिकामा आज किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाउन सुरु गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको आग्रहमा स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा लक्षित किशोरीलाई खोप लगाउन लागिएको हो ।
कोहलपुर नगरपालिकाले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दुई सय किशोरीलाई लगाउने लक्ष्य राखेको छ । कतिपयले भेरी अस्पतालबाट समेत खोप लगाइसकेकाले पालिकाले आफ्नै सभाहलमा मंगलवार खोप लगाउने मेसो मिलाएको हो ।
१४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।
खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताए । छ महिनापछि खोपको दोस्रो मात्रा दिइने छ ।
नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था विकराल रहेकाले यो खोपपछि कम्तीमा उक्त समस्याबाट जोगिने बताइन् । खोप अभावका कारण सबै उमेर समूहका किशोरीहरुलाई खोप दिन नसकिएको पनि उनले बताइन् । सरकारले उमेर हद तोकेरै खोप लगाउन भनेकाले १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको उनले स्पष्ट पारिन् ।