२६ बैशाख २०८२, शुक्रबार

कोहलपुर – नेपालगञ्ज प्रसारण लाइन निर्माण गरिने
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने भएको छ ।

उक्त आयोजनाका प्रशासनिक प्रमुख नवराज भट्टले डेढ अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य केही दिनभित्रै सुरु गर्न लागिएको जनाउँदै सो आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुने बताएका छन।

बाँकेको सो आयोजनाका लागि जानकी गाउँपालिका–५, बकसपुरमा सबस्टेसन निर्माण गरिने र १३२ केभीको १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने बताए ।

प्रशासनिक प्रमुख भट्टले आगामी तीन वर्षभित्र निर्माणको काम सक्नेगरी उक्त काम सम्पन्न गर्न पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताए । कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाका इन्जिनियर उत्सव थापाले यो आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योगहरू पनि ‘फुलफेज’मा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन।

उनले भने , ‘‘यो काम सम्पन्न भइसकेपछि नेपालगञ्जमा जुन खालको विद्युत् समस्या छ त्यो समाधान हुनेछ । उद्योगीहरूमा देखापरेको विद्युत् समस्या पनि हल हुने गरी यो आयोजना बन्न लागेको हो ।’’

नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले सर्वसाधारण र उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले यहाँको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिँदै यो आयोजना सुरु हुन लागेकोमा स्थानीय उद्योगी व्यवसायी उत्साहित बनेको बताए ।

उनले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पर्ने गरेकाले समस्या समाधानमा अवरोध हुँदै आएकोले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अध्यक्ष धामीले पछिल्लो समयमा जिल्लामा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युतलगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेको स्थानीय उद्योगी व्यवसायीको गुनासो रहेको बताए ।

यो प्रसारण लाइन निर्माण भएपछि भारतको नानपारामा निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनमा जोडिने र नेपाल र भारतबीच पश्चिमबाट पनि विद्युत् व्यापार सुरु गर्न सकिने सम्भावना छ ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech