बर्दिया \लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताएका छन ।
बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारमा आज आयोजित ४४ औँ विश्व पर्यटन दिवसको अवरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री चौधरीले सो कुरा बताएका हुन। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र बर्दियालाई विशेष प्राथमिकतामा राखेर लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई बर्दियासम्म ल्याउन कसरी सकिन्छ भन्ने विषयमा आफू लागिपरेको उल्लेख समेत गरे ।
उनले लुम्बिनी प्रदेशको पनि बर्दियामा पर्यटकीय क्षेत्र फोकस गरिएको बताए । उनले भने , ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र बर्दियालाई फोकस गरेर अग्र्यानीक लगानी गर्न प्रदेश सरकार तयार छ । ’आर्थिक उपार्जनको सबैभन्दा ठुलो क्षेत्र पर्यटन रहेको औँल्याउँदै मुख्यमन्त्री चौधरीले स्थानीय सरकार र पर्यटन व्यवसायीले हरेक स्थानीयलाई पर्यटन क्षेत्रसँग जोड्न अति आवश्यक रहेको समेत बताए ।
सङ्घीय सरकार, स्थानीय तह तथा पर्यटन व्यवसायी र सरोकारवालासँगको समन्वयमा लुम्बिनी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्ने काम भइरहेको मुख्यमन्त्री चौधरीको भनाइ छ ।मुख्यमन्त्री चौधरीले बर्दिया जिल्ला बहुलजाती, भाषा, संस्कृतिको जिल्ला रहेको त्यसमा पनि थारु जातिको बाहुल्यता रहेको बताउँदै थारु कला, संस्कृति, भेषभुसाको संरक्षण गर्दै यसलाई पर्यटनसँग जोड्न अति आवश्यक रहेको औँल्याए ।
लुम्बिनी प्रदेश सरकारले अबको प्राथमिकता आर्थिक विकासलाई दिएको दाबी गर्दै मुख्यमन्त्री चौधरीले अब प्रत्येक घरका सदस्यले कम्तीमा २५ देखि ३० हजार रुपियाँ कमाउनेगरी काम गर्न सक्ने नबनाउन्जेल प्रदेश सरकाले विश्राम नलिने बताए । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास रहेका वन्यजन्तु पीडितलाई समेत पर्यटनसँग जोडेर उनीहरूको पनि आर्थिक उपार्जनमा सहयोग गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री चौधरीले बताए ।
‘पर्यटन र हरित लगानी’ नारासहित लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् प्रवर्धक तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा पर्यटन दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा स्थानीय भेषभुषा तथा सांस्कृतिक नाचगानहरू प्रदर्शन, स्थानीय होमस्टेमा पाइने थारु समुदायका खानाका परिकारसमेत पाहुनालाई खुवाइको छ ।
पाँच पत्रकार सम्मानित
विश्व पर्यटन दिवसको अवसरमा पाँच जना पत्रकार सम्मानित भएका छन् । बर्दिया जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा कलम चलाएको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा कान्तिपुर दैनिकका कमलकुमार पन्थी, नेपाल टेलिभिजनका संवाददाता डिलप्रकाश गौतम, न्युज २४ का ज्योतिकुमार पन्थी, रेडियो टाइगर एफएमका भावुक योगी र अन्नपूर्ण पोष्ट दैनिकका यादव आचार्य रहेका छन् ।