आज असोज २१ गते आइतबारका दिन हामी तरुण दलका केन्द्रीय सदस्यहरु शपथ ग्रहण गर्देछौं। देशको सबैभन्दा जेठो अनि हालको संसद्को सबैभन्दा ठूलो दलको भातृ संगठन, युवा कांग्रेसी संगठनको सदस्य हुन पाउनु आफैंमा एक गौरव हो। गौरवसँगै हामीलाई जिम्मेवारीको अभिभारा पनि थपिएको छ।
भनिन्छ, जिम्मेवारी र भूमिका एकै सिक्काका दुई पाटा हुन्। हामी तरुण युवा साथीले केन्द्रीय सदस्य बन्दै गर्दा लोकतान्त्रिक दलको भातृ संगठनको सदस्यको जिम्मेवारी पाएका छौं। यससँगै हामीमाथि महत्वपूर्ण भूमिका पनि थपिएको छ र विशेष गरि देशभित्र र अन्तर्राष्ट्रिय समुदायमा नेपाली कांग्रेस पार्टीको आजसम्मको यात्रामा नेपाल तरुण दलको आफ्नै भूमिका छ, जसलाई हामीले निभाउनु छ, निर्वाह गर्नुपर्नेछ।
हामी यस्तो बेलामा तरुण दलको केन्द्रीय सदस्य बन्दैछौं, परिस्थिति बदलिएको छ। युवाहरुमाझ पहिलेजस्तो राजनीतिप्रति आस्था र विश्वास छैन, भरोसा छैन। अहिले युवामाझ राजनीतिप्रतिको वितृष्णा निकै बढ्दै गएको छ। यस्तो राजनीतिक परिदृश्य र सन्दर्भमा, हामीले हाम्रो लक्ष्य र अभिभारामा अघि बढ्नु छ।
राजनीतिमा युवाहरुको मोह क्रमश कम हुँदै, अझ वितृष्णा बढ्नु र त्यसमा पनि वैकल्पिक पार्टीतर्फ झुकाव बढ्नु कांग्रेसजन अझ विशेष गरि हामी तरुण दलका सदस्यहरुलाई चूनौतीको विषय पनि हो।
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको भातृ संगठनको सदस्यका रुपमा भन्नुपर्दा तरुण दल इतिहासको कुनै मोडमा पनि कहिल्यै डगमगाएन। पञ्चायतकाल, सशस्त्र द्वन्द्व होस् या राजाको प्रत्यक्ष शासनकालमा यी र यस्ता चुनौतीका दशकमा समेत आफ्नो लक्ष्यमा अविचलित भइरह्यो। निरन्तर हाम्रा अग्रजहरुले तरुण दलको शान बढाउन सफल हुनुभयो, हामीलाई हाम्रा अग्रजहरुप्रति गौरव, सम्मान छ।
लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धपतिको स्थापनाका लागि प्रतिबद्ध नेपाली कांग्रेसको मूल वैचारिक आधार ग्रहण गर्दै वि.सं. २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा सामन्ती परिपाटी र संस्कारका विरुद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक राज्यव्यवस्थातर्फ लैजाने उद्देश्यले जननायक बीपी कोइरालाको मूल प्रेरणामा वि.सं. २०१० साल कात्तिक १० गते नेपाल तरुण दलको स्थापना भयो। हो, हामीले आफ्ना सात दशक बिताइसक्यौं। त्यसैले हामी परिपक्व छौं, ऐतिहासिक पार्टीको इतिहास बोकको भातृ संगठन हौं भन्छौं।
हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य लक्ष्य अनुसार वि.सं.२०४६ सालको जनआन्दोलनले स्थापित गरेका मूल्य, मान्यता र पद्धतिको अभ्यास र शहिदहरुलाई सम्मान गर्दै नेपाली समाजलाई गरिबी, पछौटेपनबाट मुक्त गरि कुशल, सबल र संस्कारयुक्त पुस्ता तयार गर्ने प्रयोजनले देशको तरुण शक्तिलाई संगठित रुपमा परिचालन गर्न नेपाल तरुण दलको महत्वपूर्ण र निर्णायक भूमिका रहेको छ।
हामी राजनीतिक व्यवस्था बदल्न मात्र होइन, जनजन अझ विशेष गरि युवाहरुको अवस्था बदल्न पनि उत्तिकै दत्तचित्त छौं, रहिरहन्छौ। हामी राजनीतिक रुपमा सचेत युवा हौं, त्यसैकारण तरुण दलमा आबद्ध छौं।
हामीलाई थाहा छ, विशेष गरी तरुण दलका सदस्य साथीलाई यो संगठनको गरिमा थाहा छ, तरुण दलको सदस्य हुन पाउनुको छुट्टै महत्व छ। राज्यले युवा भनेको उमेर समूह अर्थात् अठार वर्षदेखि पैंतालिस वर्षसम्म सदस्य हुन पाउने व्यवस्था छ, तन्नेरी जाँगर र युवा सोचको सम्मिलन हुने संगठन हो, यो।
नेपाली कांग्रेसका सदस्य नेपाल तरुण दलको पनि सदस्य हुन सक्ने व्यवस्था छ। तरुण दलका सदस्य र पदाधिकारीहरु पनि नेपाली कांग्रेसका सदस्य हुन सक्नेछन्, जबकि कांग्रेसका अन्य भातृ संस्थाका सदस्यले नेपाल तरुण दलको सदस्यता लिन चाहेमा अन्य भातृ संस्थाको सदस्यता परित्याग गर्नुपर्दछ। तरुण दलको सदस्यता प्राप्तिको यो व्यवस्थाले तरुण दलको महत्व आफैंमा झल्काउँछ।
मातृ पार्टीले समेत विशेष भातृ संगठन सोचेको छ हामीलाई किनकि तरुण दल देशभरका तन्नेरी युवाहरु अटाउने र उनीहरुको सोच,योजना र रणनीति दर्शाउने मन्च हो। आज हाम्रा स्थापनाकालिन देखि तय भएका लक्ष्य र उद्देश्यहरु फेरिएका छैनन्, थपिएका मात्र हुन्। यसतर्फ तरुण दलका प्रत्येक सदस्यले छातीमा हात राखेर सोच्ने बेला आएको छ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रुपान्तरण गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउनु छ तरुण दलले किनकी हामी देशको एकमात्र लोकतान्त्रिक दलको भातृ संगठन हौं। लोकतन्त्रमा अनि बहुदलीय व्यवस्थामा विश्वास राख्ने युवाहरु हौं। आजको दिनमा देशका युवालाई आशा जगाउने मात्र होइन, अवसरको खोजी गर्न तरुण दल सँगसँगै हिँड्नैपर्छ। युवाहरुमा बढ्दो निराशालाई हामीले चिर्नु पर्नेछ।
पूर्वीय सभ्यता र हाम्रा रीतिरिवाज, कला सस्कृति जगेर्ना गर्दै हामीले समाजमा विद्यमान रहेका सामाजिक कुरीति, सामन्ती सोचाइ र संस्कार विरुद्ध जेहाद छोड्नैपर्छ, जसबाट मात्र हामी सांस्कृतिक पहिचानमा अब्बल सावित हुन सक्छौं। अनि त्यसबाट नै स्वतन्त्र, समुन्नत र समतामूलक समाज निर्माणको आधारशीला तय हुन्छ।
नेपाल र नेपाली हुनुको महत्व र गर्वलाई हामीले युवाहरुमाझ पुर्याउनु पर्नेछ किनकी पहिले हामी नेपाली अनि युवा। तरुण दलले हालसम्म आइपुग्दा, थुप्रै आरोह, अवरोह हासिल गर्यो, राजनीतिक परिवर्तनमा सँगसँग हिँड्यो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेल्न सफल भयौं।
हामीले यसबीचमा हासिल गरेका उपलब्धीहरुको जगेर्ना गर्दै तरुण दललाई थप जुझारु बनाउन यसका केन्द्रीय समिति अन्तर्गतका विभागहरु सक्रिय र परिणाममूखी बनाउनै पर्छ।
राष्ट्रका सबै तह र तप्काका युवाले छुने हाम्रा विभागहरु अब सक्रिय र समय सान्दर्भिक बन्दै अघि बढ्न आवश्यक छ। चाहे त्यो प्रशिक्षण विभाग होस् या प्रचार तथा प्रकाशन विभाग। विभागका नामहरुबाटै हामी तरुणले त्यसको कार्यक्षेत्र बुझ्न सक्छौं। ती विभागहरु नामझैं कार्यक्षेत्रमा लाग्न सकेमा तरुण दल अझ व्यापक र लोकप्रिय बन्ने निश्चित छ, मेची देखि महाकाली देशभरका युवाहरुको साथी बन्नेछ। यसका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, सामाजिक तथा सांस्कृतिक विभाग, गैरसरकारी संस्था समन्यय विभागले निकै ठूलो दायरा राख्न सक्छन्।
आम युवाहरुसँग प्रत्यक्ष जोडिनका लागि खेलकुद विभाग, रोजगार तथा व्यवसाय विभाग, शिक्षा तथा स्वास्थ्य विभागको ठूलो महत्व रहेको हुन्छ। तरुण दलको संगठन बुझ्न, सांगठनिक दायरा बढाउन तथा विश्लेषण गर्न संगठन विभाग, अनुगमन, मुल्यांकन तथा अनुसन्धान विभाग, तरुण परिचालन विभागको आफ्नै महत्व छ।
यी तरुण दलका विभाग र कार्यगत क्षेत्रको तादम्यताले हाम्रा आफ्ना लक्ष्य र कार्यनीति पूरा गर्नुपर्ने छ, हाम्रा उद्देश्यहरुले सार्थकता पाउन आवश्यक छ।समाजमा विद्यमान सामाजिक कुरीति, सामन्ती सोचाइ र संस्कारविरुद्ध अघि बढ्दै नेपाली समाजलाई समृद्ध र आधुनिक समाजमा रुपान्तरण गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने अभिभारा हामी तरुणकै छ किनकी स्वतन्त्र, भयमुक्त र समतामूलक समाजको निर्माण हाम्रो लक्ष्य हो।
नेपाली तरुणहरुको बौद्धिक, शारीरिक तथा भौतिक विकासका लागि आवश्यक कार्यक्रमहरु हामीले सञ्चालन गर्दै अघि बढ्न आवश्यक छ। विश्वव्यापी रुपमा देखिएका समस्याहरु मानव अधिकार र जनअधिकारको रक्षा गर्ने, पर्यावरणीय संरक्षणका लागि सदैव प्रयत्नशील रहिरहने, अन्तर्राष्ट्रिय क्षेत्रमा हुने मानव अधिकार तथा प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने जस्ता उद्देश्यहरुमा हामी तरुण लाग्नुपर्ने आजको आवश्यकता हो।
देशमा शान्ति, अमनचयन कायम गर्नका लागि प्रयत्नशील रहनुपर्नेछ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाप्रति समर्पित हुँदै बहुलवादमा आधारित बहुदलीय संसदीय शासन प्रणालीप्रति प्रतिबद्ध रहँदै हामी र हाम्रा गन्तव्य तथा कार्यक्रमहरु निर्देशित रहँदै आएका छन्।
युवाका समस्याहरु दिन प्रतिदिन बढेका छन्, समस्याका प्रकृतिहरु समेत फेरिएका छन्। वर्तमान अवस्थामा युवाहरुको ठूलो हिस्सा लागुऔषध लगायतको दुर्व्यवसनीको शिकार भइरहेकोले लागुऔषध र अन्य दुर्व्यसनीबाट युवाहरुलाई मुक्त राख्नका लागि यसको अन्त्यका लागि विभिन्न सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ।
हामी युवामा चरम निराशा देखिएको छ, देशमा अवसरको कमीका कारणले विदेशमोह बढेको छ। तरुण शक्तिको विदेश पलायन दिन दिनै बढेको सरकारी निकायका तथ्यांकहरुले बताउँछन्। यसरी बढ्दो युवा पलायनलाई रोक्न जस्ता अभियान संचालन गर्न सकिन्छ। ‘देशको तरुण, देशकै लागि’ अभियान एउटा उदाहरण हुन सक्छ। तरुणहरुका लागि देशभित्रै रोजगारी सृजना गरेर, विभिन्न पेशा, व्यवसायमा लाग्नका लागि युवाहरुलाई अभिप्रेरित गर्न जरुरी छ। यसको अगुवाइ नेपाल तरुण दलले गर्न सक्छ। देशभित्रै अवसरको खोजी गर्न सकेमा र रोजगारी सृजना गरेमा यसबाट युवाहरुमा कामप्रतिको लगाव बढ्छ, युवा जनशक्तिको उत्पादकत्व बढ्छ। जसको प्रत्यक्ष सम्बन्ध देशको आर्थिक समद्धिमा पर्दछ। मुलुकको समृद्धिमा सकारात्मक माहोल सृजना हुन्छ।
इतिहासमा कयौं आरोह, अवरोह आए। कस्ता कस्ता विषम परिस्थितिको सामना गर्नुपर्यो तर तीन भागमा विभाजित भएको, माथि रातो बीचमा सेतो र तल नीलो रंगको अनि आयातकार हाम्रो झन्डा, जहाँ बीचमा सेतो पृष्ठभूमिको मध्य भागमा बायाँबाट दायाँतर्फ माथि उठेको र बलेको मसाल र मसालको दायाँ बायाँ दुवैतिर तलमाथि हुने गरि पाँच चोसे रातो रंगका चार ताराहरु कहिल्यै हल्लिएन। हाम्रो तरुण दलको यो झण्डा कहिल्यै झुकेन र अगामी दिनमा पनि कहिल्यै पनि नझुक्ने प्रण गर्दछौं।
अब तरुण दलको लक्ष्य र कार्यक्रमहरुको विश्लेषणात्मक तथा वस्तुपरक समीक्षा गर्दै हामी तरुण दलका प्रत्येक सदस्यले आफूलाई थप क्रियाशील र सक्रिय बनाउने बेला आएको छ। समय वलवान हुन्छ, नत्र ढिलो हुन सक्छ। हामी युवा हौं, हामी अग्रगामी र यर्थाथवादी र समयानुकुल हुनैपर्छ। हामीले समाजको चेत र गति नबुझे, कसले बुझ्ने? भनिन्छ, गतिशीलता र अग्रगामी सोच नै युवाका परिचय हुन्। त्यसैले तरुण दलले आफ्नो गन्तव्य लक्ष्य र कार्यनीतिलाई ध्यान दिएर आफूलाई अझ थप सक्रिय र क्रियाशील बनाउनै पर्ने बेला आएको छ।
लोकतन्त्रको विकल्प उन्नत र विकसित लोकतन्त्र नै हो, भनिन्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। अनि नेपालमा लोकतन्त्र जोगाउने पार्टी नेपाली कांग्रेसमात्रै हो। राष्ट्रिय अन्तर्राष्ट्रिय सुझबुझ र भरोसा योग्य पार्टी नेपाली कांग्रेस मात्र हो। देशमा लोकतन्त्र जोगाउन साथ र सहयोग दिने कांग्रेस पार्टी हो अनि कांग्रेसलाई परेको बेलामा साथ दिने हामी तरुण दल।
त्यसैले त हामी तरुण सधैं प्रतिबद्ध हुन जरुरी छ कि पार्टीलाई आवश्यक परेका बखत तरुण दल उभिनुपर्नेछ सतीशाल झैं उभिएर अनि लोकतन्त्र र राष्ट्रियताप्रति जस्तोसुकै अवस्थामा पनि तरुण दल उभिन सक्छ अनि हामी तरुण दलका सदस्य उभिन सक्छौं भनेर हिम्मत राख्नुपर्नेछ। नेपाली जनजनलाई विश्वास र भरोसा दिलाउनु पर्नेछ।
झा नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन्।