बाँके\माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान गरिरहेका छन् । गत भदौ १६ गते देशभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय नागरिकको धान काटेर श्रमदान गरेका हुन् ।
अभियान अन्तर्गत बुधवार बिहान नेपालगञ्ज उपमहानगरपालिका १९ फारामटोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिएका छन। उनले बुधवार बिहान फारामटोलका स्थानीय गङ्गा योगी र कृष्ण पुनको खेतको धान जनश्रमदान गरी काटिदिएको बताए ।
बिहानै माओवादीहरू खेतमा पुगेर धान काटिदिँदा स्थानीय खुसी भएका थिए । स्थानीय कृष्ण पुनले बिहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुसी भएको बताए । “चाडबाड नजिकै आइसक्यो, खेतमा धान पाकेर पहेँलै भएको छ ।
श्रीमती बिरामी भएर धेरै दिनदेखि भारतको दिल्लीमा उपचार गराएर भर्खरै फर्केका छौँ । यस्तो बेलामा माओवादी आएर पाकेको धान काटिदिँदा एकदमै खुसी भएको छु ।”माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले माओवादी अभियानसँगै जनतासँग प्रत्यक्ष जोडिएका समस्या समेतको पहिचान गरी जनताका समस्या समाधान गर्दैजाने पार्टीको नीतिअनुसार जनश्रमदान गरी धान काटिएको बताए ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ ले माओवादी अब सुध्रने कोसिस गरिरहेको बताए । “यो अभियानसँगै जनश्रमदानद्वारा जनताका काम पनि गर्ने साथै नेता कार्यकर्ता पनि सुध्रिएर अघि बढ्ने हो, माओवादी अब ठुला कुरा गरेर होइन, साँचिकै निमुखा गरिब जनताको सारथि बन्ने हो ।” संयोजक पाण्डेले भनेका छन।
“हरेक जनताका घरमा जान्छौँ, दुःख पीडा के छन् रु बुझ्छौँ, उनीहरूका पीडामा मलम लगाउने प्रयास गर्छौँ ।” धान काट्ने जनश्रमदानमा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, सचिव डिल्ली बराल, सदस्य उषा विक, धर्मराज न्यौपाने, नेपालगञ्ज नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सचिव प्रेमबहादुर शाहीलगायत जिल्ला, नगर तथा वडा कमिटीका दर्जनौँ नेता कार्यकर्ता सहभागी रहेको १९ नम्बर वडा अध्यक्ष योगीले जानकारी दिए ।