बाँके\जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिल्लास्थित राजनीतिक दलका नेता, पत्रकार र सद्भाव समितिसँग छुट्टाछुट्टै छलफल गरेका छन।
जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुखका रुपमा इलामबाट सरुवा भई आएका प्रजिअ श्रवणकुमार पोखरेल र गृह मन्त्रालय प्रहरी प्रशासन शाखाबाट बाँके प्रहरी प्रमुखको रुपमा सरुवा भइ आउनुभएका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले सोमवार नेपालगञ्मा अन्तरक्रिया तथा छलफल गरेका हुन।
राजनीतिक दलसँगको अन्तरक्रियामा दलका नेताले समग्र बाँकेको राजनीतिक, धार्मिक तथा सामाजिक अवस्थाबारेमा प्रजिअ र एसपीलाई जानकारी गराएका छन। नेताहरुले बाँके जिल्ला अत्यन्तै संवेदनशील भएकाले गम्भीरतापूर्वक काम गर्न आग्रह समेत गरेका छन।
जसपाका नेता तथा नेपालगञ्ज उपमहानगरका उपम्रमुख कमरुद्दिन राईले समयमै प्रशासनले नेपालगञ्जको सुरक्षा अवस्थाप्रति ध्यान नदिंदा दुई पक्षबीच झडप हुँदा सामाजिक सद्भाव खल्बलिन पुगेको बताएका छन। सुरक्षा अवस्थाप्रति चनाखो हुन र कडा निगरानी राख्न अनुरोध गरेका छन। बाँकेमा गाई काट्ने क्रियाकलापलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने भन्दै नेता राईले भन्नुभयो, “नेपालगञ्ज घटना गाई काण्डबाटै सुरु भएको हो, गाई काट्नेलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ र जिल्लामा गाई काट्ने क्रियाकलाप पूर्णरुपमा रोकिनुपर्छ ।”
माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डेले हिन्दुहरुको ठूलो चाड दसैं, तिहार र छठनजिकै आएको र दसैं सुरु भइसकेकाले प्रत्येक सडक, टोल र बस्तीमा दुर्गाको मूर्ति प्रतिस्थापन गरी रातिसम्म हिन्दु धर्मावलम्वीले पूजाआजा गर्ने हुँदा ती ठाउँहरुमा गम्भीरताका साथ सुरक्षा प्रदानगरी कडा निगरानी गर्न अनुरोध गरेका छन।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न विषेश योजना बनाइ काम गर्नुपर्ने दलका नेताहरुको सुझाव छ । नेपालगञ्जमा भएको घटनामा संलग्न दुवै पक्षका व्यक्तिको पहिचानगरी जतिसक्दो चाँडो कानुनी दायरामा ल्याइ कारवाही गर्नुपर्ने नेताहरुले माग गरेका थिए । नेताहरुले प्रहरी प्रशासनको राम्रो काममा सहयोग गर्ने र नराम्रो कामको विरोध गरेर सजग बनाउने प्रतिवद्धता जनाए ।
बाँके जिल्ला लागूऔषध ओसारपसार तथा कारोवार गर्ने प्रमुख थलोको रुपमा विकास भएको, भारतबाट खुलेआम अवैध मालसामानहरु आउनेगरेको तथा हरेक चीजको तस्करी हुने ठाउँको रुपमा विकास हुँदैगएकाले ती सवै रोक्न प्रहरी प्रशासन कडाइका साथ लाग्नुपर्ने नेताहरुको भनाइ छ ।
त्यसैगरी पत्रकारको छलफलमा पत्रकारले सामाजिक सञ्जाल, दर्ता नभएका अनलाइन, फेसवुक, युट्युवलगायतमा विषेश ध्यान दिनुपर्ने बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बाँकेका पत्रकार अत्यन्तै संयमित रहेको भन्दै प्रहरी प्रशासनले पत्रकार र पत्रकार महासंघ समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन।
उनले नेपालगञ्जमा पछिल्लो समय खुलेका क्यासिनो तथा स्पा मसाज सेन्टरमा बढी निगरानी गर्नुपर्ने बताए । स्पा र मसाज सेन्टरका नाममा यौनधन्दा समेत हुनेगरेको, मिडियाले त्यो समाचार बाहिर ल्याउँदा समेत प्रहरी मुकदर्शक बनेर बस्नेगरेको भन्दै प्रहरी प्रमुखलाई सचेत हुन र निगरानी गर्न अनुरोध गरे । नेपालगञ्जका क्यासिनोमा अधिकांश नेपाली ग्राहकले खेल्नेगरेको भन्दै त्यतातिर पनि निगरानी गर्न आग्रह समेत गरे ।
प्रजिअ पोखरेलले आफू भर्खरै मात्र बाँके आएको र यहाँको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिइरहेको भन्दै राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, सदभाव समितिलगायतसँग समन्वय गरी अगाडि बढ्ने बताए । उनले कुनै पनि हालतमा जिल्लाको सुरक्षा अवस्था कमजोर हुन नदिने बताए ।
प्रहरी प्रमुख सुवासचन्द्र बोहराले सबै पक्षसँग आपसी छलफलगरी समन्वय गर्दै अगाडि बढ्ने र त्यसमा सबैको साथ र सहयोगको खाँचो पर्ने बताए । प्रहरी प्रमुख बोहराले सामाजिक सञ्जालमा आएका विषयबस्तुकै भरमा समाचार नबनाउन र असान्दार्भिक शिर्षक राखेर समाचार प्रकाशन नगर्न आग्रह गर्दै सम्बन्धित पक्षसँग सोधेर बुझेर मात्र समाचार प्रकाशित गर्न पत्रकारलाई आग्रह गरेका छन।
छुट्टाछुट्टै भएको कार्यक्रममा जिल्लामा क्रियाशील काँग्रेस, एमाले, माओवादी, जसपा, राप्रपा, जनमत, रास्वपालगायतका राजनीतिक दलका नेता तथा प्रतिनिधि र जिल्लामा क्रियाशील पत्रकारको उपस्थिति रहेको थियो । प्रजिअ पोखरेल र प्रहरी प्रमुख बोहराले आइतबारदेखि जिल्लाको नेतृत्व सम्हाल्नुभएको हो ।