नेपालमा बचत तथा ऋण सहकारीहरूको स्थापना समुदायमा आधारित अनौपचारिक समूहहरूको संस्थागत विकासको आधारका रूपमा भएको हो । २०१३ सालमा खुलेका सहकारीमा सरकारको छायामा रहेर सहकारीका सिद्धान्तहरूको उत्कृष्ट अनुपालन हुन सकेन । सहकारी र सरकारीमा फरक भएन, सहकारी उद्यमशीलता हरायो । यसकै विकल्पका रूपमा सहकारी ऐन २०४८ आयो र यो ऐन निर्माणमा पनि बचत तथा ऋण सहकारी सञ्जालको महत्त्वपूर्ण भूमिका रह्यो । वास्तवमा बचत तथा ऋण समूहहरूको वकालतमा नै ऐनमा धेरै व्यवस्था आए । तिनै व्यवस्थाले शुरुआती दिनहरूमा सहकारीको वृद्धिका लागि राम्रो वातावरण तयार गर्यो । प्रजातन्त्रको पुन:स्थापनापछि पनि सहकारी कानूनको निर्माण तथा कार्यान्वयनमा बचत तथा ऋण सहकारी सञ्जालको योगदान रहेको छ । विद्यमान सहकारी ऐन निर्माणमा पनि सहकारी अभियानको योगदान रहेको छ । अभियानले भोगेका र देखेका समस्याका आधारमा ऐनमा धेरै नयाँ व्यवस्था समावेश भएको छ । सहकारी अभियानको ८० प्रतिशत आवश्यकता यो ऐनले पूरा गरेको छ ।
संविधानले अर्थव्यवस्थाको एक खम्बाका रूपमा सहकारीलाई स्वीकार गरेको छ । समाजवाद उन्मुख अर्थव्यवस्थाको माध्यमका रूपमा नै सहकारीलाई स्वीकार गरिएको छ । संविधानका तीनओटा अनुसूचीमा संघ, प्रदेश र स्थानीय सरकारको काममा सहकारीलाई स्वीकार गरिएको छ । संविधानको व्यवस्थाअनुरूप नै संघीय ऐन, प्रदेश ऐन तथा स्थानीय ऐनहरूको व्यवस्था पनि हुँदै गएको छ । प्रदेश तथा स्थानीय तहहरूमा सहकारी ऐननियम निर्माण गरी कार्यान्वयन र आवश्यक संरचनाहरूको व्यवस्था भइरहेको छ । सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, सामुदायमा आधारित सदस्यकेन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनका रूपमा सहकारी संस्थाहरूको परिकल्पना भएको छ । सहकारीको नीतिगत सहजीकरणका लागि सहकारी मन्त्रालयको व्यवस्था भएको छ । पन्ध्रौं योजनामा पनि सहकारीले अलग्गै स्थान पाएको छ । भलै अभियानले अपेक्षा गरेजति प्राप्त हुन सकेको छैन ।
आज जुनसुकै नाममा खुलेका सहकारी संघसंस्थाले बचत तथा ऋणको कारोबार गरेका छन् । अहिले सहकारी ऐन कार्यान्वयन गर्न सरकार तयार छ । सहकारी अभियान सहकारीका सिद्धान्तबमोजिम चल्न तयार छ । तर, अभियानकर्मीको नेतृत्व अभियानकर्मीबाट हुन सकेको छैन । आज अभियानले आफ्नो छविमा अन्यले दाग देखाउँदासमेत बचाउमा बोल्ने नेतृत्व पाएको छैन । सहकारी अभियानको आजको समस्या भनेको कमजोर र स्वार्थी नेतृत्व नै हो । बचत तथा ऋण सहकारी अभियानले धेरै काम गर्न सक्छ र गरेको पनि छ ।
बचत तथा ऋण सहकारीहरूमा नियामकीय बोझ थपिँदै गएको छ । प्रतिस्पर्धीले अभियानमा आएको स्रोतमा आँखा लगाएका छन् तर यसमा अभियानको मूल नेतृत्व बेखबर जस्तो देखिएको छ । बचत तथा ऋण सहकारीभित्र एकता, सद्भाव, सहकार्य तथा लोकतन्त्रको अभ्यास भएको छ । यसले सामाजिक पूँजी निर्माणमा जुन योगदान गरेको छ त्यो ज्यादै महत्त्वपूर्ण छ ।
सरकारको कुनै पनि निकाय वा जिम्मेवार व्यक्तिले कुनै छलफलमा बस्न अस्वीकार गरेको पाइएको छैन । सदस्यहरूको सहभागिता बढेको छ । तर, यसको परिणाम कम आउनुमा अभियानको मूल नेतृत्वमा रहेको सहकारी संस्कृतिको कमी नै हो । बचत तथा ऋण सहकारी अभियान सुधार गर्न अभियान नेतृत्व सुध्रन आवश्यक छ । यसलाई हामी सबैले स्वीकार नै पर्छ । नेतृत्व सुध्रिएमात्र अभियानको छवि उच्च बनाउन सकिन्छ । सञ्जालमा भएको सक्षमताको उपयोग गरी अल्पकालीन समस्याहरूको समाधान र दीर्घकालीन समस्याहरू पहिचान गर्नु आजको आवश्यकता हो । जसले हामीलाई सामूहिक हितको मार्गमा अघि बढ्न सहयोग गरोस् । भनिन्छ, बचत विकासको जननी हो । बचतबाट समृद्धि सम्भव छ ।
सहकारी अभियानको नेतृत्वमा लोकतान्त्रिक परिवर्तन आजको आवश्यकता हो । सहकारी अभियानको समस्यासँग परिचित, सहकारी सिद्धान्त र मूल्यमान्यताप्रति प्रतिबद्ध अभियानकर्मी आजको नेतृत्वको आवश्यकता हो ।
सहकारीको समस्या समाधान सरकार वा सरोकारवालालाई आरोप लगाएर हुँदैन । समस्या समाधान गर्ने शीप, क्षमता र स्रोत मात्र होइन, अनुभव पनि बचत तथा ऋण सहकारी सञ्जालमा छ ।
सहकारीमा देखिएका समस्या अल्पकालीन भएकाले बचत तथा ऋण सहकारीको समस्याको समाधान आन्तरिक रूपमा नै गरिनुपर्छ । बचत तथा ऋण सहकारी अभियानको उद्देश्य पवित्र छ र विधि समावेशी । तर, अभियानमा हाल देखिएका समस्या समाधान अभियानमैत्री नेतृत्वबाट मात्रै गर्न सकिन्छ ।
लेखक ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष हुन् ।