बाँके\बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो ।
बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भित्रका विभिन्न ३१ स्थानलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको जानकारी गराएका छन।
जिल्ला भित्र पहिचान गरिएका विभिन्न ३१ स्थानमा विशेष सुरक्षा सतर्कता अपनाइएकोपोखरेलले भनेका छन। प्रजिअ पोखरेलका अनुसार उक्त स्थानमा २४ सै घण्टा नेपाल प्रहरीको पिकेट (७–८ जनाको प्रहरी टोली) रहनेछ ।
प्रजिअ पोखरेलले राजमार्गको सुरक्षा र सम्भावित उद्धारलाई फोकस गरेर सशस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरी सुरक्षा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक÷एक वटा कमान्ड पोस्ट स्थापना भैसकेको, नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको, दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको,आकस्मिक उद्वार कालागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले जानकारी गराए ।
सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ राखिएको, यात्रुको सहजताका लागि यसअघि नै जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिसकिएको छ ।
प्रजिअ पोखरेलका अनुसार लामो दूरीका सवारी साधनमा डवल चालक भए नभएको तथा चालक रिफ्रेस सेन्टरजस्ता पक्षमा समेत अनुगमन गरिने व्यवस्था पनि गरिएको छ ।
चाडबाड अवधिभर नियमित ट्राफिक चेकिङ जारी रहने, आर्थिक कारोबार हुने मुख्य चार स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेला÷पर्व हुने मुख्य स्थानहरू सिधनियाघाट, मान खोला, रामलीला मैदानको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरीको गस्ती परिचालित गरिने, नगर क्षेत्रभित्रका विभिन्न धार्मिक स्थलको सशस्त्र प्रहरी बलद्वारा सघन गस्ती गरिने व्यवस्था गरिएको छ ।
मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रमा सशस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतसबाजी लगायतका अवैध विस्फोटक पदार्थको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीका ११ टोली परिचालित गरिने जनाइएको छ ।
सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका चार सय ९५ जना गरी कुल एक हजार ५ सय ८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी गराए । आफ्नो नजिक कुनै घटना तथा दुर्घटना भएमा तुरुन्तै १०० नम्बरमा फोन गरी प्रहरीलाई जानकारी गराउन पनि प्रजिअ पोखरेलले सर्वसाधारणलाई आग्रह समेत गरेका छन।











