१० जेष्ठ २०८३, आईतवार

कोहलपुरमा नेपाली सेनाद्वारा जेष्ठ नागरिकलाई भोजन
  • न्युज मानसराेवर

बाँके\बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । ‘चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरूलाई आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले मीले बडासैंका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ,’ उनले भने ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।

सुवेदीले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रहसमेत गरिन् ।

बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाडौं, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ गरेर आठ जिल्लामा सञ्चालित छन् ।

कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसैंको दिन भोजन खुवाउनुका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो ।

  • ८ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech