बाँके\खाद्य अधिकार सुनिश्चित गर्न तिन तहका सरकार जवाफदेही बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन। आज बाँकेको नेपालगन्जमा आयोजित खाद्य अधिकार सम्बन्धित अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन।

फियान नेपालको आयोजनामा सरोकारवाला निकायका व्यक्तिहरु, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खाद्यअधिकार सञ्चालनका प्रतिनिधिबीच गरिएको छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
खाद्य अधिकारको नीति बनाउन पटक–पटक आग्रह गर्दा बनाए पनि कपितय स्थानीय तहले कार्यान्वयनमा लैजान नसकेको सहभागीले बताएका थिए । कार्यक्रममा अधिबक्ता बसन्त गौतमले खाद्य अधिकार कार्यान्वयनका लागि अदालतबाट भएका फैसला पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गरेका छन।
यसका लागि नियमित पैरवीको आवश्यकता रहेको उनले भनेका छन। कार्यक्रममा मानवअधिकारकर्मी भोला महतले खाद्य अधिकार सुनिश्चित गर्ने कुरा एमदमै गाह्रो काम भएकाले सबैको समन्वयात्मक पहल आवश्यक रहेको बताए ।
कार्यक्रममा खाद्यअधिकारका लागि नियमित अनुगमन गर्नुपर्ने, खाद्य स्वच्छताका बिषयमा सम्वन्धित निकायले पहलकदमी गर्नुपर्ने, सञ्चारमाध्यमसँग समन्वय बनाउनुपर्ने र बनाएका नीति कार्यान्वयन गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरामा जोड दिइएको फियान नेपालका लुम्बिनी प्रदेश संयोजक शुरेस गौतमले जानकारी गराए ।
कार्यक्रममा सामाजिक बिकासका क्षेत्रमा लामो अनुभव भएका बिज्ञ उत्तम उप्रेती र बिष्णुप्रसाद पोखरेल, फियान नेपालका निर्देशक अशोकबहादुर सिंह गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकाया लगायतको समेत उपस्थिति थियो ।











