९ बैशाख २०८२, मंगलवार

गड्यौलाबाट मल उत्पादन गर्न कृषि ज्ञान केन्द्र बाँकेले बार्षिक बजेट विनियोजन
  • न्युज मानसराेवर

बाँके\मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाएपनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै जिल्लाका किसानहरु गड्यौला मलप्रति आकर्षित भएका हुन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले सुरुमा परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिदै परीक्षण सफल हुँदै गएकाले अब यसलाई बढाउँदै लगिने बताएका छन।खाँलेले भने “यो मलले राम्रो काम गर्दै गएमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ, बढीभन्दा बढी उत्पादन गरेर वैकल्पिक मलको रुपमा प्रयोग गरिनेछ ।”

उक्त मल उत्पादनका लागि केन्द्रले चालु आर्थिक वर्षदेखि सात लाख रुपियाँ लगानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त मल उत्पादनका निम्ति बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका ६ र नेपालगन्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी बताइएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार सुरुवातमा मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन् । केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ ।

केन्द्रले मल उत्पादनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडा लगायत कृषि औजार पनि प्रदान गरेको जनाएको छ ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech