३० बैशाख २०८२, मंगलवार

२५ प्रतिशतलाई कोहलपुरमा खानेपानी उपलब्ध
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको दोस्रो ठूलो सहर कोहलपुर नगरपालिका भित्र खानेपानीको समस्या देखिएको छ । नगरका २५ प्रतिशत सर्वसाधारणलाई मात्रै खानेपानीका आयोजनाबाट पानी वितरण गरिरहेको छ ।

कोहलपुर नगरपालिकाअनुसार नगरमा २४ हजार १८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक परे पनि ६ हजार उपभोक्तालाई मात्र खानेपानी वितरण भइरहेको छ ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले नगरका ७५ प्रतिशत जनतासम्म आयोजनाको खानेपानी पुर्‍याउन नसकिएको जनाउँदै उनीहरुले आफै हाते नल जडान गरेर वा बोरिङ गरेर खानेपानीको व्यवस्था मिलाएको छन उनले भने ।

आचार्यले कोहलपुरभित्र सातवटा खानेपानी आयोजना रहेको जनाउँदै तीमध्ये चार वटा खानेपानी आयोजना सञ्चालनमा रहेको र ३ वटामा आयोजनाको काम चलिरहेकाले छिट्टै खानेपानीको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पहिलो पटक नगरपालिकाले गठन गर्यो बोर्ड 

कोहलपुरमा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि पहिलो पटक खानेपानी, सरसफाइ बोर्ड गठन गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्य संयोजक रहने गरी १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

गठन गरिएको बोर्डको सदस्यमा वडाध्यक्षहरु बद्रीप्रसाद जैसी, लालबहादुर राना, आपेन्द्रनाथ योगी, कल्पना शर्मा, वीरेन्द्रकुमार शाह र कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसाल चयन गरिएको छ ।

त्यसैगरी, अन्य सदस्यमा संगीन शर्मा, अनिता बुढाक्षेत्री, नन्दलाल पौडेल, खानेपानी डिभिजन कार्यालय नेपालगन्ज र लुमन्ती आवासका लागि सहयोग समूहलाई सदस्यमा चयन गरिएको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech