बाँके\जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकामध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४६ जनाको उपचार भइरहेको छ ।बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले ४९ जना भूकम्पपीडित घाइतेलाई नेपालगन्ज ल्याइएकोमा दुई जना निको भएर घर फर्किएको, एक जनाको ल्याउँदाल्याउँदै मृत्यु भएको र ४६ जनाको उपचार भइरहेको जानकारी गराएका छन।
उनले भेरी अस्पतालमा उपचाररत सबै घाइतेको अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको उनले भने । भूकम्पमा घर खस्दा च्यापिएपछि बच्चा पेटमा नै मरेपछि व्यथा लाग्ने औषधि खुवाएर नर्मल डेलिभरी गराइएकी १९ वर्षीया युवतिको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन।
भेरी अस्पतालका सूचना अधिकारी डा। सङ्केतकुमार रिसालले शनिवार बिहानैदेखि दिनरात खटिएर चिकित्सक र स्वास्थ्यकर्मीले गरेको मिहिनेतको परिणामस्वरूप यहाँ आएका सबै घाइतेको स्वास्थ्यमा सुधार आएको बताए । यहाँ उपचार गराइरहनु भएकामध्ये दुई जना निको भएर घर फर्किनुभएको र ४६ जना घाइते सबैको स्वास्थ्य सामान्य रहेको उनले भनेका छन। शनिवार घाइतेलाई अस्पताल लग्दा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा भर्ना रहनु भएका घाइतेमा २४ महिला र २२ जना पुरुष रहेकोमा १६ जना बालबालिका रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।
उनले सोमबारको परकम्पमा परी घाइते भएकी एक तीन वर्षीया बालिकालाई मङ्गलबार बिहान उपचारका लागि भेरी अस्पताल ल्याइएको बताए । श्रेष्ठका अनुसार हाल अस्पतालमा रहनुभएका घाइतेमध्ये जाजरकोटका ३०, रुकुमपश्चिमका १५ र सल्यानका एक जना हुनुहुन्छ ।
सोमवार र मङ्गलवार बिहान गरेर थप पाँच जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । यसैबिच भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सबै घाइतेको निःशुल्क उपचार भइरहेकाले कसैले पनि सो बारेमा अनर्गल प्रचार नगर्न आग्रह समेत गरेका छन।