बाँके\भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका भूकम्पका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन। आज भेरी अस्पताल पुगेका मन्त्री ज्वालाले घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जानकारी लिएका हुन।
सो अवसरमा उनले घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जनाउँदै उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिएका छन। मन्त्री ज्वालाले घाइतेको उपचारमा भेरी अस्पतालले देखाएको तदारुकता निकै सराहनीय रहेको जनाउँदै घाइतेहरूको अवस्था सामान्य रहेकोमा खुसी व्यक्त गरे ।
उनले भूकम्पपीडितको उद्धारको काम सकिएको र घाइतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको जनाउँदै अब सरकारले राहत र पुनर्निर्माणमा केन्द्रित भएर काम सुरु गरेको बताए ।भूकम्पमा भत्किएका घरहरूलाई अर्को भूकम्पमा नभत्किनेगरि बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै त्यसका लागि विभिन्न कार्य भइरहेको मन्त्री ज्वालाले बताए ।
उक्त अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, उपचारमा संलग्न चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले हालसम्म उपचारका लागि ५३ जना भेरी अस्पतालमा आएकोमा तीन जना निको भएर घर फर्किसकेको र एक जनाको बाटोमै मृत्यु भएको तथा अहिले ४९ जनाको अस्पतालमा उपचार भइरहेको बताए । उनले घाइतेको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी लगायत बाँकेका सर्वसाधारणले देखाएको सक्रियता निकै सराहनीय रहेको समेत उल्लेख गरेका छन।











