बाँके\यो वर्ष पनि लेखा समूहका कर्मचारीहरुको सरुवामा ढिलाइ भएको छ । तोकिएको समयभन्दा करिब २ महिना ढिला हुँदा समेत महालेखा नियन्त्रक कार्यालय लट सरुवाबारे अनिर्णित छ ।
गत वर्षहरुमा पनि महालेखा नियन्त्रक कार्यालयले तोकिएको समयमै कर्मचारीहरुको ‘लट’ सरुवा गर्न सकेको थिएन । करिब लेखाका ४ सय कर्मचारीहरु सरुवाको प्रतीक्षा छन् । तर, विभिन्न कारण देखाएर महालेखा नियन्त्रक कार्यालयले कर्मचारीहरुको सरुवा गरेको छैन ।
गत वर्ष पनि महालेखाले १७ पुसमा मात्रै कर्मचारीहरुको नियमित लट सरुवा गरेको थियो । सोभन्दा अघिल्लो वर्ष ९ पुसमा यस्तो सरुवा भएको थियो । यो वर्ष पनि महालेखाले तत्कालै कर्मचारीहरुको सरुवा गर्ने छाटकाट देखिएको छैन । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ ।
निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।
देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्नुपर्नेछ भने विभिन्न संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवाको प्रतिक्षामा छन् । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।