बाँके\नवौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले हात पारेका छन। उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार समेत प्राप्त गरेका छन।उनले आठौँ नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन। पार्कीले यसअघि छैटौँ संस्करणको उपाधि पनि हत पार्न सफल भएका थिए ।
नेपाली सेनाका खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै एक लाख पुरस्कार पाए । एपीएफकै किरणसिंह बोगटीले तेस्रो स्थान हासिल गर्दै नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । महिलातर्फको म्यराथनमा भने सन्तोषी श्रेष्ठले लगातार तेस्रो पटक जितेर उपाधिमा ह्याट्रिक गरेकी छन। सातौँ संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन ।
यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारीले तृतीय स्थान प्राप्त गरिन। प्रथम स्थान हासिल गरेबापत सन्तोषीले ७५ हजार रुपियाँ प्राप्त गरिन भने दोस्रो स्थानकी रानाले ५० हजार र तेस्रो स्थानकी भण्डारीले २५ हजार नगद पुरस्कार प्राप्त गरेकी छन।
सोही प्रकारले ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार रुपियाँबाट पुरस्कृत गरिएको छ । किड्स रन तर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ ।
प्रतियोगिता क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभगञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा गरिएको थियो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बिचमा मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगन्ज म्याराथन हुँदै आएको छ ।सोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको नेपालगन्ज म्याराथनमा गत वर्षदेखि इलेकट्रोनिक्स टाइमिङ चिप्स प्रयोग गरिँदै आएको छ ।