बाँके\भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाइमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ । नर्सिङ क्याम्पसको नयाँ भवनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका विषय चार वर्षे बीएस्सी नर्सिङ र तीन वर्षे बीएनएसका छात्राहरूले अध्ययन गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहले नेपालगन्ज नर्सिङ क्याम्पस संस्थानको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक मात्र आङ्गिक क्याम्पस भएको बताए ।
नयाँ भवन उद्घाटनको अवसरमा उनले क्याम्पसमा अझै पनि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । डीन शाहले भने , ूत्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आङ्गिक क्याम्पसका भवनहरू पुराना र जीर्ण अवस्थाका छन् । हामी सबै क्याम्पसमा भौतिक पूर्वाधार निर्माण गर्न पहल गरिरहेका छौ ।
नेपालगन्ज नर्सिङ क्याम्पसका प्रमुख तुलसा सुनारले क्याम्पसमा बीएस्सी नर्सिङ र बीएनएसमा ३०–३० जना विद्यार्थीको कोटा रहेको जनाउँदै चार वर्षमा बीएस्सी नर्सिङमा एक सय २० जना र तीन वर्षमा बीएनएसमा ९० जना विद्यार्थी अध्ययन गरिरहेको बताइन। उनले क्याम्पसमा अधिकांश पुराना भवन रहेको जनाउँदै यो नयाँ भवनले धेरै सहयोग पुग्ने बताइन।
यसअघि क्याम्पसको ६ कोठे नवनिर्मित सो भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा पेशल दाहालले गरेका थिए । सो अवसरमा उनले नयाँ भवनबाट छात्राहरूलाई शिक्षण सिकाइ कार्य सहज र प्रभावकारी हुने बताए ।
उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका शिक्षालयमा धेरै भौतिक पूर्वाधार पुराना हुँदा नयाँ निर्माण गर्न बाँकी रहेको जनाउँदै हरेक वर्ष भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिरहेको समेत बताए ।
उक्त ६ कोठे दुई तले भवन रजना निर्माण सेवा जुम्लाले ९९ लाख ८२ हजार ७ सय ५० रुपियाँको लागतमा निर्माण गरेको क्याम्पस व्यवस्थापनले जनाएको छ ।