बर्दिया\स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ।
हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा सहित बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ विविध कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ ।
परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बढैयाताल गाउँपालिकामा ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस २०२३’ अवसरमा समारोह तथा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो।
उक्त प्रभातफेरि कार्यक्रममा गाउँपालिका अध्यक्ष, कार्यपालिकाका पदाधिकारीहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु सहित विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहित कार्यक्रमहरु विनियोजन गरिएको जानकारी गराए ।त्रिपाठीले आगामी वर्षहरुमा स्थानीय बजेटमा स्वास्थ्यलाई थप प्राथमिकतामा राख्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी लगायत सम्पूर्ण बिषयगत समिति संयोजकहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमूखहरु तथा स्थानिय नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो ।
दिगो विकास एजेण्डाले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । दिगो विकास परिलक्ष्यले कुनै आर्थिक कठिनाइबिना सबैले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिएको छ। नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार नै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिएको छ ।