१० जेष्ठ २०८३, आईतवार

कोहलपुर नगरपालिकामा भेटिए ५२ जना क्षयरोगका बिरामी
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ ।

सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् । १५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको चार महिनामा ती क्षयरोगका बिरामी फेला परेका हुन् ।

गत साउन, भदौ, असोज र कात्तिक महिनामा यी बिरामी फेला परेका छन् ।कोहलपुर नगरपालिकाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले गत आर्थिक वर्षमा कोहलपुरमा १८९ जना क्षयरोगका बिरामी फेला परेकोमा तीन जनाको मृत्यु भएको जानकारी गराए ।

आर्थिक वर्षको चार महिनामा ५२ जना बिरामी फेला परेकोमा एक जनाको मृत्यु भएको बताउनुभयो । कोहलपुर नगरपालिकाले पालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि विशेष अभियानका साथ क्षयरोगविरुद्ध कार्यक्रम सञ्चालन गर्दैआएको जनाउँदै कार्यक्रम संयोजक केसीले सो कार्य सोचेजस्तो सहज नभएको  उल्लेख गरे ।

यसैविच नगरपालिकाले पालिकाभित्रका गरिव र विपन्न समुदायका २३ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरेको छ । नगरपालिकाका अनुसार चामल २० किलो, दाल दुई किलो, तेल एक लिटर, बदाम साढे एक किलो, अण्डा एक क्यारेट र सर्वोत्तम पिठो एक किलो गरी तीन हजार मूल्य बराबरको पोषण सामग्री वितरण गरिएको हो ।

  • १ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech