११ मंसिर २०८१, मंगलवार

लुम्बिनी प्रदेशसभामा एक वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ ।

०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको गठबन्धन सरकार र अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले भागबन्डा मिलाउन नसक्दा यी समिति अलपत्र परेका थिए ।सत्तारुढ गठबन्धन दलहरुबीच भागबन्डा नमिलेका कारण लामो समय समितिको नेतृत्व रोकिएको र यसले प्रदेश सरकार तथा प्रदेश सभालाई अनिर्णयको बन्दी बनाएको भन्दै केही दिनअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई तत्काल नेतृत्व चयनका लागि अल्टिमेटम दिएको थियो ।

यो विषयलाई मुख्यमन्त्री डिल्ली चौधरीले विशेष चासोको रूपमा लिएर तत्काल समाधानको उपाय खोजेका हुन् ।सोमबार सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औँ बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेपछि अब यसको नेतृत्व टुंगो लाग्ने निश्चित भएको हो ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले पुस १६ र १७ गते समिति सभापतिको निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको जनाएका छन् । लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन भएका थिएनन् ।

६ वटा विषयगत समितिमध्ये दुई वटा समितिको सभापति प्रतिपक्ष दल एमालेलाई दिने सहमति भएको र बाँकी चारवटा सभापति पदको सत्तापक्ष दलबीच सहमति गर्ने तयारी भएको सत्तारुढ दलको भनाइ छ ।एमालेलाई सार्वजनिक लेखा समितिको सभापति र कृषि, वन तथा वातावरण समितिको सभापति दिने सहमति भएको छ।

प्रदेशसभामा रहेका अर्थ,उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति सत्तापक्षले बाँडफाँड गर्ने स्रोतले जनाएको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले विषयगत समितिको नेतृत्वको लागि सहमति भएको बताए ।

उनका अनुसार प्रमुख प्रतिपक्ष दल एमालेलाई लेखा तथा कृषि गरी दुई समितिको नेतृत्व दिने र बाँकी ४ समितिको नेतृत्वमा सत्तारुढ दलबाट १ साना दललाई र ३ मध्ये कांग्रेस तथा माओवादीले बाँड्ने सहमति भएको छ । तर सत्तारुढ दलका आफ्नै दाबी रहेका छन् ।

माओवादीले मन्त्रीमण्डलमा आफूहरूलाई पूर्व सहमतिअनुसार नदिएकाले दुई समितिको नेतृत्व नछाड्ने जनाएको छ भने कांग्रेसले पनि दुई समितिको नेतृत्व नछाड्ने जनाएको छ । एक सांसदसहित सरकारमा समर्थन गरेका नेकपा एस र जनमोर्चाले पनि नेतृत्वको दाबी गरिरहेको छ ।

नेकपा एसकी सांसद भगवती घिमिरेले मन्त्रीमण्डलमै दाबी गरे पनि नपाएकाले समितिमा दाबी हुनु स्वभाविक भएको बताइन् ।

सत्तारुढ दलले पाएका ४ सभापतिमध्ये कांग्रेस, माओवादी, र साना दलको सहमति अझै टुंगो लागेको छैन । यो विषयमा केन्द्रबाटै सहमति जुटाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ पुगेर सोमबार दाङ फर्केपछि दलहरू बीच बसेर टुंगो लाग्ने नेताहरूले बताएका छन् ।

मुख्यमन्त्री चौधरीले विषयगत समितिको नेतृत्व भन्दा पहिले नै सरकारलाई पूर्णता दिने गरी सहमति जुटाउन काठमाडौँ पुगेर फर्केका छन् । स्रोतका अनुसार अहिले माओवादीबाट १ र कांग्रेसबाट २ मन्त्री थपेर जाने गरी तयारी गरिएको छ । तर यसमा माओवादीले अझै सहमति जनाएको छैन ।

माओवादीले सरकार गठनका बेला दिने भनिएको ३ मन्त्रीको दाबेदारीबाट पछि नहटेको जनाएको छ । तर कांग्रेसले उसलाई दुई विषयगत समितिको नेतृत्व दिएर मनाउने गरी मुख्यमन्त्रीले केन्द्रका नेताहरू भेटेर फर्केका छन् ।

  • ४ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech