बाँके\लुम्बिनी प्रदेश सरकारले महिला मन्त्री पाएको छ । आइतवार विस्तार भएको मन्त्रिपरिषद्मा बाँकेबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य कृष्णा केसीलाई डिल्लीबहादुर चौधरी नेतृत्वको लुम्बिनी सरकारमा सहरी विकासमन्त्री बनाएको हो ।
सरकारमा सत्तारुढ दल माओवादी केन्द्रले मात्रै महिलालाई मन्त्री सिफारिस गरेको थियो । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि पूर्णता भने पाएको छैन । ‘समावेशी संघीयता’ अभ्यास गरिरहेका प्रदेश सरकारका मन्त्रिपरिषद् समावेशी देखिएका छैनन् । उनी लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्ष निर्वाचित एकमात्र महिला सांसद पनि हुन् । बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट दोस्रो कार्यकालका लागि नमूना निर्वाचित भएकी थिइन् । नेकपा (एमाले)का लीला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बने पनि मन्त्रालय चित्त नबुझेपछि कृष्णाले राजीनामा दिएकी थिइन् । उनी तीन दशकदेखि माओवादी केन्द्रको राजनीति गर्दै आएकी थिइन् ।
‘नमूना’ उपनामले परिचित कृष्णा प्रदेशसभा संसदीय राजनीतिमा माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन् । प्रदेशसभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिँदा उनको जीतलाई फरक तस्वीरको रूपमा हेरिएको थियो । निर्वाचित भएपछि आफूजस्ता महिलाले पुरुषको तुलनामा ठूलो संघर्ष गर्नुपर्ने उनको अनुभव सुनाउँछिन् । मन्त्री बनेसँगै उनले थप जिम्मेवार रहेर काम गर्ने बताउँछिन् ।
कृष्णा अहिले माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह–इन्चार्ज हुन् । पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुँदा १ वर्ष सचिवालयमा बसेर काम गरेकी उनलाई प्रचण्डको विश्वासपत्रको रूपमा पनि हेरिन्छ । राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिए पनि प्रत्यक्ष निर्वाचित हुने नगन्य महिलामध्ये उनी पर्छिन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधासभाका पूर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले कृष्णालाई मन्त्री बनाएर पार्टीले न्याय गरेको बताइन् । ‘उहाँ सशक्त, जझारु, निडर र साहसी महिला नेतृ हो’ सुवेदीले लोकान्तरसँग भनिन्, ‘जनयुद्धकालदेखि हिमाल, पहाड र तराईमा राजनीति गरेको उहाँलाई सफल महिला नेतृत्वको रूपमा चिनिनुहुन्छ ।’ राज्यका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने नेता सुवेदीको भनाइ छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की ४४ वर्षीया कृष्णा विसं २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साविक रुकुम (हाल रुकुम पश्चिम)बाट बसाइँसराइँ गरी बाँके झरेको थियो । माओवादीको शहरकेन्द्रित राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी साहसी नेत्रीको रूपमा परिचित थिइन् कृष्णा । प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी उनी अविवाहित छिन् ।
मन्त्री बनेसँगै कृष्णाले प्रदेशलाई गतिशील देखिने गरी आफूले काम गर्ने बताइन् । ‘लुम्बिनी देखिने गरी काम गर्ने योजना बनाएकी छु । त्यहीँ अनुसार अघि बढछु । पछाडि परेको क्षेत्रलाई उकास्ने गरी काम गर्ने मेरो योजना छ,’ उनले लोकान्तरसँग भनिन् ।
लुम्बिनीमा कृष्णासँगै आइतवार नेपाली कांग्रेसबाट सरोज थापा पनि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका छन् । थापा रोज राणाको नामले परिचित छन् । उनी ‘डन’ पृष्ठभूमिका चलचित्रकर्मीसमेत हुन् ।